"झुपडीको आँगनदेखि एनपीएलको मैदानसम्म पुगेका १६ वर्षीय राहुल यादवले दुई खेलमै ६ विकेट लिएर चर्चा कमाएका छन्। तर क्रिकेटको सपना पूरा गर्न परिवारको जमिन बेच्नेसम्मको अवस्था बनेका यी किशोरको सफलतामा स्थानीय सरकार र जनप्रतिनिधिको साथ कस्तो छ भन्ने प्रश्न उठेको छ।"
रौतहट। बौधिमाई नगरपालिका–१ अजगैबीस्थित एउटा सामान्य कच्ची घरको आँगनमा अहिले गाउँलेको आउजाउ बढेको छ। टायलले छाएको दुईकोठे घरको एउटा कुनामा सजिएका ट्रफी र मोबाइलको पर्दामा छोराको खेल हेरिरहेका वीरबहादुर यादवको अनुहारमा देखिने खुसी सामान्य छैन। किनकि, कुनै समय छोराको क्रिकेट मोह पूरा गर्न आफ्नो हिस्साको जमिन बेच्नेसम्म सोच्नुपरेको यो परिवारका लागि अहिले त्यही छोरा राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा स्थापित खेलाडीसँग प्रतिस्पर्धा गरिरहेको छ।
१६ वर्षीय राहुल यादवले एनपीएलमा देखाएको प्रदर्शनले अहिले रौतहटको अजगैबी गाउँलाई देशभर चिनाएको छ। जनकपुर बोल्ट्सबाट खेलिरहेका उनले कर्णालीविरुद्धको पहिलो खेलमै दुई विकेट लिए। काठमाडौं गोर्खाजविरुद्धको अर्को खेलमा चार ओभर बलिङ गर्दै ३१ रन खर्चिएर चार विकेट हात पारे। राष्ट्रिय टोलीका अनुभवी खेलाडी करण केसीलगायतका ब्याटरलाई आउट गरेपछि उनको प्रदर्शनले थप चर्चा पायो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राहुलले देखाएको यही क्षमताले गाउँको सामान्य परिवेशबाट राष्ट्रियस्तरको क्रिकेटसम्म पुग्ने उनको संघर्षलाई फेरि चर्चामा ल्याएको छ। तर उनको सफलतासँगै अर्को प्रश्न पनि उठेको छ– गाउँको नाम देशभर चिनाउने प्रतिभालाई आफ्नै स्थानीय सरकारले कति चिनेको छ?
क्रिकेटका लागि जमिन बेच्नेसम्मको तयारी
वीरबहादुरको परिवारसँग १२ कठ्ठा खेतीयोग्य जमिन छ। त्यही जमिनको आम्दानी र सीमित स्रोतसाधनबाट परिवारको गुजारा चल्दै आएको छ। आर्थिक अवस्था कमजोर भएकाले राहुलको क्रिकेट यात्रामा सुरुदेखि नै अनेक कठिनाइ थिए। प्रशिक्षण शुल्क, खेल सामग्री र प्रतियोगितामा सहभागी हुन आवश्यक खर्च जुटाउनु परिवारका लागि सहज थिएन।
तर राहुलका लागि क्रिकेट केवल रहर थिएन। दुई वर्षअघि उनले आफ्नो क्रिकेट सपना पूरा गर्न आफ्नो हिस्सामा पर्ने जमिन बेचेर भए पनि एकेडेमीमा प्रशिक्षण गर्ने व्यवस्था मिलाइदिन परिवारसँग आग्रह गरेका थिए। छोराको सपना पूरा गर्न जमिन बेच्नेसम्मको प्रस्ताव सुन्दा परिवारका लागि त्यो सामान्य विषय थिएन। तर आर्थिक र पारिवारिक परिस्थितिका कारण तत्काल त्यसो गर्न सम्भव भएन।
जमिन बेच्न नसके पनि परिवारले उनको सपना रोक्न चाहेन। सक्दो सहयोग गरिरह्यो। अभावबीच अभ्यासलाई निरन्तरता दिएका राहुलले १२ वर्षको उमेरदेखि क्रिकेट खेल्न थालेका थिए। खेलको आधार बलियो बनाउन उनी भारतको दिल्ली र लखनउसम्म पुगेर प्रशिक्षण लिए। त्यसपछि चन्द्रपुर क्रिकेट एकेडेमीमा अभ्यास गर्दै आफ्नो खेललाई थप निखारे।
निरन्तरको अभ्यास र मेहनतकै परिणामस्वरूप उनी मधेश प्रदेशको अन्डर–१६ प्रतियोगितामा ’म्यान अफ द सिरिज’ बन्न सफल भए। त्यही प्रदर्शनले उनको व्यावसायिक क्रिकेट यात्राको ढोका खोल्यो।
४ सय ४६ प्रतिस्पर्धीलाई पछि पार्दै एनपीएलसम्म
जनकपुर बोल्ट्सले आयोजना गरेको ट्यालेन्ट हन्ट राहुलका लागि आफ्नो क्षमता देखाउने महत्त्वपूर्ण अवसर बन्यो। ४ सय ४६ भन्दा बढी प्रतिस्पर्धी सहभागी छनोट प्रक्रियामा उनले उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम सातमा स्थान बनाए। त्यसपछि एनपीएल टोलीमा आबद्ध हुने अवसर पाए।
गाउँमा सीमित स्रोतसाधनबीच अभ्यास गर्दै क्रिकेटको सपना देखेका राहुलका लागि कीर्तिपुरको मैदानमा उत्रिनु आफैंमा ठूलो उपलब्धि थियो। त्यसमाथि राष्ट्रिय टोलीका खेलाडीसहित अनुभवी क्रिकेटरसँग प्रतिस्पर्धा गर्ने अवसरले उनको क्षमतालाई थप परीक्षण गर्ने मौका दियो।
एनपीएलमा उनले पाएको अवसरलाई प्रदर्शनमा बदल्ने प्रयास गरेका छन्। पहिलो खेलमा दुई र दोस्रो खेलमा चार विकेट लिएपछि उनको बलिङ शैली चर्चामा आएको छ। उनको फरक बलिङ एक्सन, गति र स्लोअर बलले ब्याटरलाई सहज रूपमा खेल्न कठिन बनाउने गरेको छ। जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत निरोज खतीवडाले पनि राहुलको उदयलाई स्थानीयस्तरमा लुकेका प्रतिभालाई अवसर दिँदा प्राप्त हुन सक्ने परिणामका रूपमा व्याख्या गरेका छन्। काठमाडौं गोर्खाजका प्रशिक्षक तथा क्रिकेट निर्देशक शरद भेषवाकरले उनको बलिङ शैली र गतिलाई ब्याटरका लागि चुनौतीपूर्ण बताएका छन्। जनकपुरका कप्तान हरमित सिंहले पनि उनको सम्भावनाको प्रशंसा गरेका छन्।
कम उमेरमै अनुभवी खेलाडीसँग प्रतिस्पर्धा गरेर देखाएको प्रदर्शनले राहुलको सम्भावना उजागर गरेको छ। यद्यपि, दुई खेलको सफलताले मात्रै उनको भविष्य निर्धारण गर्दैन। निरन्तर अभ्यास, अनुशासन, उचित प्रशिक्षण र थप अवसर उनका लागि उत्तिकै आवश्यक छन्।
मेयरको नगरमा राहुलको संघर्ष, छिमेकी वडामा मन्त्रीको घर
राहुलको सफलताको अर्को पाटो स्थानीय नेतृत्वको भूमिकासँग जोडिएको छ। उनी बौधिमाई नगरपालिका–१ का बासिन्दा हुन्। एनपीएलमा उनको प्रदर्शनले नगरपालिकाको नामसमेत राष्ट्रियस्तरमा चिनिने अवसर दिएको छ। तर क्रिकेटको सपना पूरा गर्न आर्थिक कठिनाइसँग जुधेको परिवार र देशभर चर्चा कमाइरहेका किशोर खेलाडीको यात्रामा स्थानीय सरकारको साथ र प्रोत्साहन कति पुगेको छ भन्ने प्रश्न उठेको छ।
संयोग कस्तो छ भने राहुलको घर रहेको वडा नम्बर १ बाट केही दूरीमै प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री कनिष पटेलको घर रहेको वडा नम्बर ४ पर्छ। एउटै नगरपालिकाभित्र एउटा सामान्य परिवारको किशोरले सीमित स्रोतसाधनबीच संघर्ष गर्दै एनपीएलसम्मको यात्रा तय गरिरहेको छ भने अर्कोतर्फ सोही नगरको छिमेकी वडाबाट प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने मन्त्री छन्।
यस्तो अवस्थामा राहुलको सफलतालाई केवल खेलाडी र परिवारको व्यक्तिगत उपलब्धिका रूपमा मात्र हेर्ने कि स्थानीय प्रतिभाको पहिचान र प्रोत्साहनको अवसरका रूपमा पनि लिने भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ। नगरपालिकाका प्रमुखदेखि प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीसम्मले यस्ता प्रतिभालाई प्रोत्साहन गर्न के पहल गरेका छन् भन्ने चासो स्थानीयस्तरमा बढ्न थालेको छ।
राहुलको परिवारको आर्थिक अवस्था कमजोर छ। प्रशिक्षण र खेल सामग्री जुटाउन कठिनाइ भोगेको परिवारले छोराको सपना पूरा गर्न जमिन बेच्ने सोचसमेत बनाएको थियो। यस्तो पृष्ठभूमिका खेलाडीलाई उचित प्रशिक्षण, खेल सामग्री, आर्थिक सहयोग र आगामी खेल यात्रामा आवश्यक सहजीकरण गर्न स्थानीय तहले भूमिका खेल्न सक्छ। प्रतिभा पहिचान गर्ने, खेलाडीलाई सम्मान गर्ने र उनीहरूको क्षमता विकासका लागि वातावरण बनाउने जिम्मेवारी स्थानीय सरकारको पनि हो।
तर राहुलको सफलतापछि स्थानीय जनप्रतिनिधिबाट कुनै औपचारिक सम्मान, सहयोग वा प्रोत्साहनको पहल भएको छ कि छैन भन्ने विषयमा स्पष्ट जानकारी आवश्यक छ। मेयर र मन्त्रीको भूमिका तथा प्रतिक्रिया पनि यस बहसका महत्त्वपूर्ण पक्ष हुन्। प्रतिभाले चर्चा पाएपछि मात्रै होइन, संघर्षकै क्रममा स्थानीय सरकारले साथ दिन सक्यो भने ग्रामीण क्षेत्रका अरू किशोरकिशोरीका लागि पनि त्यसले सकारात्मक सन्देश दिन सक्छ।
राहुलको कथा चार विकेटको प्रदर्शनमा मात्रै सीमित छैन। १२ कठ्ठा जमिनको भरमा गुजारा चलाउने परिवार, प्रशिक्षणका लागि जमिन बेच्नेसम्मको सोच, दिल्ली र लखनउसम्मको प्रशिक्षण यात्रा र चन्द्रपुर क्रिकेट एकेडेमीमा गरेको अभ्यास हुँदै उनी एनपीएलको मैदानसम्म आइपुगेका हुन्। यो यात्राले ग्रामीण क्षेत्रमा प्रतिभाको कमीभन्दा पनि अवसर र स्रोतसाधनको अभाव ठूलो चुनौती हुन सक्ने देखाउँछ।
वीरबहादुरको सपना छोरालाई राष्ट्रिय टोलीको जर्सीमा देख्ने हो। मोबाइलको पर्दामा छोराको खेल हेर्दै गाउँको घरमा बसिरहेका उनका लागि एनपीएलको प्रदर्शन त्यो सपनातर्फको एउटा खुड्किलो बनेको छ। तर राहुलले अझै लामो यात्रा तय गर्न बाँकी छ।
उनको सफलताले अजगैबी गाउँको परिचय फराकिलो बनाएको छ। अब यो उपलब्धिलाई स्थानीय खेलकुद विकाससँग जोड्ने कि एउटा परिवारको खुसी र व्यक्तिगत उपलब्धिमै सीमित राख्ने भन्ने जिम्मेवारी स्थानीय नेतृत्वको पनि हो।
एनपीएलको मैदानमा राहुलले आफ्नो क्षमता प्रमाणित गरिरहेका छन्। उनको बलिङमा अहिले देशभरका क्रिकेटप्रेमीको ध्यान छ। तर अजगैबीको त्यो सामान्य घरबाट उठेको प्रतिभालाई आगामी यात्रामा साथ दिन आफ्नै नगरपालिकाका जनप्रतिनिधि कहिले अघि सर्लान्? राहुलको सफलताले उठाएको यो प्रश्नको जवाफ स्थानीय नेतृत्वबाट अपेक्षित छ।