रौतहट ,१ फागुन //
रौतहटमा नक्कली नेपाली हजार दरका १४ थान नोटसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा वृन्दावन–२ विश्रामपुरका ३२ वर्षीय दिनेश पटेल र सर्लाही बरहथवा नगरपालिका–१ का ३० वर्षीय विवेक प्रसाद यादव रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बिहीबार अपराह्न करिब ३ बजे वृन्दावन नगरपालिका–१ विश्रामपुर बजारस्थित विशाल किराना पसलमा पेट्रोल किन्न पुगेका दुई जनाले नक्कली नोट प्रयोग गर्न खोजेपछि घटना सार्वजनिक भएको हो।
उनीहरू बीआर ३० एआर ७७५५ नम्बरको मोटरसाइकलमा आएका थिए।
पसल सञ्चालकले दिएको नोट शंकास्पद देखिएपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि खटिएको प्रहरी टोलीले जाँच गर्दा दिनेश पटेलको गोजीबाट हजार दरका १२ थान र विवेक प्रसाद यादवले मोबाइल कभरभित्र लुकाएर राखेको हजार दरका २ थान गरी जम्मा १४ थान नक्कली नोट बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बिष्णु प्रदीप बस्यालले जानकारी दिए।
दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको रौतहट प्रहरीले जनाएको छ।