फाल्गुन ०२, रौतहट
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै रौतहट क्षेत्र नं. ४ बाट नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रामकुमार भट्टराईले गढिमाई नगरपालिका क्षेत्रबाट औपचारिक रूपमा घरदैलो अभियान सुरु गरेका छन् । पहिलो दिन नै उत्साहजनक सहभागिता देखिएको उक्त अभियानमा पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक तथा स्थानीय मतदाताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।गढिमाई नगरपालिका अन्तर्गतका विभिन्न वडामा पुगेका उम्मेदवार भट्टराईलाई स्थानीयवासीले भव्य स्वागत गरेका थिए ।

फूलमाला, खादा र शुभकामना सहित गरिएको स्वागतले चुनावी माहोल थप तातेको देखिएको छ । मतदातासंगको प्रत्यक्ष भेटघाटका क्रममा भट्टराईले क्षेत्रभित्र रहेका सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, सिंचाइ, रोजगारी तथा सामाजिक सुरक्षा सम्बन्धी समस्याहरू ध्यानपूर्वक सुन्दै सुझाव संकलन गरेका थिए ।उनले घरदैलो अभियानकै क्रममा “जनताको घरदैलोमा पुगेर समस्या बुझ्नु नै सांचो राजनीति हो” भन्दै आफू निर्वाचित भए जनताको आवश्यकता र प्राथमिकता अनुसार योजनाहरू अघि बढाउने प्रतिबद्धता जनाए । साथै, विकास निर्माणका कामलाई पारदर्शी र परिणाममुखी बनाउने वाचा समेत गरेका छन् ।

युवा नेतृत्वप्रति बढ्दो आकर्षण
युवामैत्री सोच, ऊर्जा र स्पष्ट धारणा भएका उम्मेदवार भट्टराईलाई निडर तथा जिम्मेवार युवा नेतृत्वका रूपमा लिइँदै आएको छ । गलत कार्यका विरुद्ध खुला रूपमा आवाज उठाउने र सही पक्षमा दृढ उभिने स्वभावका कारण उनीप्रति युवासहित आम मतदाताको आकर्षण बढ्दै गएको पार्टीका नेताहरूले बताएका छन् ।

देशको बदलिँदो राजनीतिक परिवेशमा जेन–जी पुस्ताको अपेक्षा, युवाको आवाज र परिवर्तनको चाहनालाई आत्मसात् गर्दै संसदसम्म जनताको मुद्दा पु¥याउने लक्ष्यसहित उनी चुनावी मैदानमा उत्रिएको बताएका छन् । पहिलो दिनको घरदैलो कार्यक्रममा महिला, वृद्धवृद्धा तथा युवाहरूको उल्लेख्य सहभागिता देखिएको थियो । स्थानीयका अनुसार कार्यक्रम स्थलहरूमा जनसागर उर्लिएको दृश्यले चुनावी प्रतिस्पर्धा रोचक बन्ने संकेत गरेको छ ।

शीर्ष नेताहरूको साथ
घरदैलो अभियानको उद्घाटन कार्यक्रममा मधेश प्रदेश सरकारका पूर्व मन्त्री तथा प्रदेशमा छुट्टै राजनीतिक पहिचान बनाएका नेता युवराज भट्टराई समिर, संविधानसभा सदस्य देवेन्द्र पटेल लगायत पार्टीका वरिष्ठ नेताहरूको उपस्थिति रहेको थियो । उनीहरूले मतदातालाई पार्टीको चुनाव चिह्न तारामा मतदान गर्न आग्रह गरेका थिए । भट्टराईको राजनीतिक यात्रामा उतारचढाव रहंदै आएको छ ।

एमाले विभाजन हुनुअघि उनले जिल्लाको प्रमुख नेतृत्व सम्हाल्दै स्थानीयस्तरमा संगठन विस्तारमा महत्त्वपूर्ण भूमिका खेलेका थिए । तत्कालीन माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच एकता हुनुअघि उनी एकीकृत समाजवादी पार्टीका उपमहासचिव तथा कार्यालय सचिवको जिम्मेवारीमा थिए । २०७० सालको संविधानसभा निर्वाचनमा उनी तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका थिए । उक्त निर्वाचनमा उनले कांग्रेसका देवप्रसाद तिमल्सिनालाई पराजित गरेका थिए । त्यसपछिका दुई निर्वाचनमा भने उनी उम्मेदवार बनेनन् र तिमल्सिनाले निरन्तर जीत हात पारे ।
यसपटक १२ वर्षपछि पुनः तिनै तिमल्सिनासँग प्रतिस्पर्धामा उत्रिएका भट्टराई इतिहास दोहो¥याउने रणनीतिमा छन् । पार्टी एकता, संगठन विस्तार र जनसमर्थनलाई बलियो आधार बनाउँदै उनी चुनावी मैदानमा होमिएका छन्।
जितको दाबी
घरदैलो अभियानको सुरुवातसँगै स्थानीय तहमा उत्साहजनक प्रतिक्रिया देखिएको भन्दै पार्टीका नेताहरूले रौतहट–४ मा यसपटक आफनो जित सुनिश्चित हुने दाबी गरेका छन् । जनताको समर्थन, युवाको सक्रियता र संगठनको मजबुत संरचनाले आफूहरूलाई थप आत्मविश्वास दिएको उनीहरूको भनाइ छ ।

अब आगामी दिनहरूमा क्षेत्र नं. ४ अन्तर्गतका सबै पालिका र वडामा क्रमशः घरदैलो, कोणसभा तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने कार्यतालिका रहेको पार्टीले जनाएको छ । निर्वाचन मिति नजिकिंदै जांदा रौतहट–४ को राजनीतिक माहोल झन् तातिने अनुमान गरिएको छ ।