रौतहट ,३ फागुन//
रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा यमुनामाई गाउँपालिका–४ सरुअठाका २४ वर्षीय जितेन्द्र साह र २१ वर्षीया उनकी श्रीमती रहेको प्रहरीले जनाएको छ।
दुर्गाभगवती गाउँपालिका वडा नं. ४ स्थित गौर–गंगापिपरा सडकखण्ड अन्तर्गत झाझपुल नजिकै आज
बिहान करिब साढे पाँच बजेको समयमा गंगापिपराबाट गौरतर्फ आउँदै गरेको भारतीय बिआर३०यु१३७१ नम्बरको मोटरसाइकल सडकबाट करिब ५० मिटर तल सिसौको रुखमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परि दुवै जना टाउको, मुख तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेर अचेत अवस्थामा फेला परेका थिए ।
दुवै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल गौर पठाइएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी विष्णु प्रदीप बस्यालले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।