फाल्गुन ०२ गते ।
रौतहट जिल्लाको गरुडामा लैगिक हिंसा नियन्त्रण जिल्ला सञ्जाल समितिको मासिक समीक्षा बैठक सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहट अन्तर्गत रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र गरुडाको आयोजनामा सम्पन्न बैठक सेवा केन्द्रको सभाहलमा आयोजना गरिएको थियो। बैठकको अध्यक्षता जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजालले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा कन्थमनि प्रसाद जैसवाल तथा विशिष्ट अतिथिका रूपमा इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी शंकर प्रसाद आचार्यको उपस्थिति रहेको थियो।
कार्यक्रममा मानवअधिकारकर्मी, महिला अधिकारकर्मी, सञ्चारकर्मी, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा स्थानीय तहका पदाधिकारीहरूको उल्लेख्य सहभागिता रहेको थियो। प्रमुख अतिथि नगर प्रमुख जैसवालले लैगिक हिंसा नियन्त्रणका लागि जिल्ला समितिलाई थप सक्रिय र प्रभावकारी बनाउन सरोकारवाला निकायबीचको समन्वय र सहकार्य अनिवार्य रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले ग्रामीण भेगसम्म जनचेतनामूलक कार्यक्रम विस्तार गर्नुपर्ने, विद्यालय तथा टोलस्तरमा सचेतना अभियान सञ्चालन गर्नुपर्ने र अनुगमन तथा मूल्याङ्कन प्रणालीलाई थप मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।

नगरपालिकाको तर्फबाट हिंसापीडितलाई आवश्यक सहयोग, संरक्षण तथा पुनःस्थापनामा निरन्तर सहकार्य रहने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो। विशिष्ट अतिथि डिएसपी आचार्यले लैगिक हिंसा नियन्त्रणका लागि शिक्षा, जनचेतना, कडा कानुनी कार्यान्वयन र सामाजिक सोचमा परिवर्तन अत्यन्त आवश्यक रहेको बताउनुभयो। घरेलु हिंसा, कार्यस्थलमा हुने दुव्र्यवहार तथा पितृसत्तात्मक सोचका कारण उत्पन्न समस्याहरू अन्त्य गर्न सबै तह र समुदायको पहल जरुरी रहेको उहांको भनाइ थियो।
उहांले महिलालाई आर्थिक रूपमा सशक्त बनाउने, हिंसापीडितलाई कानुनी सहायता, सुरक्षित आश्रय, परामर्श सेवा तथा मनोसामाजिक सहयोग उपलब्ध गराउने कार्यलाई प्रभावकारी बनाउन प्रहरी प्रशासन प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।
कार्यक्रममा सेवा केन्द्रकी प्रहरी नायब निरीक्षक (सई) दिपिका ओझाले आर्थिक वर्ष २०८२/०८३ को श्रावण देखि माघसम्मको प्रगति विवरण सार्वजनिक गर्नुभयो। उहांका अनुसार— घरेलु हिंसा सम्बन्धी २४३ उजुरीमध्ये २१९ फछ्र्योट भइसकेका छन् भने २४ उजुरी प्रक्रियामा रहेका छन्। सामाजिक हिंसा सम्बन्धी ४३३ उजुरीमध्ये ४१९ फछ्र्योट भइसकेका छन् भने बांकी उजुरीमाथि काम भइरहेको छ।
सोही अवधिमा हराएको तथा फेला परेको सम्बन्धी १४३ उजुरी परेका छन्, जसमध्ये ११९ जना फेला परिसकेका छन् भने २४ जनाको खोजतलास जारी रहेको छ। हराएका व्यक्तिमध्ये ६२ महिला, ५ बालक र ५२ बालिका फेला परिसकेका छन् भने १२ महिला, १ बालक र १२ बालिका अझै सम्पर्कमा नआएको र खोजी कार्य तीव्र रूपमा अगाडि बढाइएको जानकारी दिइयो।
सई ओझाले लैगिक हिंसा रोकथाममा समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउंदै पीडितलाई समयमै सहयोग, संरक्षण र न्याय दिलाउन सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो। अध्यक्षता गर्दै एसपी रिजालले सेवा केन्द्रमा आउने सेवाग्राहीलाई कुनै प्रकारको असहजता नहोस् भन्ने सुनिश्चित गर्न निर्देशन दिनुभयो। पीडितको गुनासो संवेदनशीलतापूर्वक सुन्ने, दुवै पक्षको भनाइ बुझेर निष्पक्ष निर्णय गर्ने र कानुनअनुसार छिटोछरितो सेवा प्रवाह गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिइएको उहांले बताउनुभयो।
उहांले लैगिक हिंसा नियन्त्रण प्रहरी प्रशासन मात्रको दायित्व नभई समाजका सबै तह र निकायको संयुक्त जिम्मेवारी भएको उल्लेख गर्दै समुदाय–प्रहरी सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। बैठकले आगामी दिनमा विद्यालयस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन, पीडितमैत्री सेवा प्रवाह सुदृढीकरण, तथा सम्बन्धित निकायबीच नियमित समन्वय बैठक गर्ने निर्णयसमेत गरेको जनाएको छ।