पर्सा,९ बैशाख //
वीरगन्ज भन्सार कार्यालय का अनुसार चालु आर्थिक वर्षको नौ महिनामा वीरगन्ज नाका हुँदै ६ खर्ब ९४ अर्ब ५ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान आयात भएका छन्। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८० अर्ब ४४ करोड रुपैयाँ अर्थात् करिब १३ प्रतिशतले बढी हो।
गत आवको नौ महिनामा भने ६ खर्ब १३ अर्ब ६१ करोड रुपैयाँ बराबरको आयात भएको थियो। कार्यालयका सूचना अधिकारी उदयसिंह विष्ट का अनुसार चालु आवमा यस नाकाबाट हुने आयातमा उल्लेख्य वृद्धि देखिएको छ।
आयातित प्रमुख वस्तुहरूमा पेट्रोलियम पदार्थ अग्रस्थानमा रहेका छन्। नौ महिनामा १ खर्ब ४८ अर्ब १६ करोड रुपैयाँ बराबरका पाँच थरिको पेट्रोलियम पदार्थ आयात भएको छ, जुन गत आवको सोही अवधिको १ खर्ब ४० अर्ब १० करोड रुपैयाँभन्दा बढी हो।
त्यसैगरी, फलाम तथा फलामजन्य सामग्री ६२ अर्ब २६ करोड रुपैयाँको आयात भएको छ, जुन गत वर्षको ५५ अर्ब ९ करोड रुपैयाँभन्दा वृद्धि हो। भटमासको कच्चा तेल ५० अर्ब ४० करोड रुपैयाँको आयात भएको छ भने गत वर्ष सोही अवधिमा ३८ अर्ब १५ करोड रुपैयाँको मात्र आयात भएको थियो।
मेसिनरी तथा पार्टपुर्जा आयात पनि उल्लेख्य रूपमा बढेको छ। चालु आवमा ४९ अर्ब १३ करोड रुपैयाँ बराबरको मेसिनरी आयात भएको छ, जुन गत वर्षको ४० अर्ब ५७ करोड रुपैयाँभन्दा बढी हो। यस्तै, इलेक्ट्रिक मेसिनरी उपकरण र तिनका पार्टपुर्जाहरू ३४ अर्ब १९ करोड रुपैयाँको आयात भएको छ, जुन अघिल्लो वर्षको ३० अर्ब १४ करोड रुपैयाँभन्दा वृद्धि हो।
यस अवधिमा वीरगन्ज भन्सार कार्यालयले कुल १ खर्ब ७७ अर्ब ६६ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ।