काठमान्डौ,९ बैशाख//
तत्कालका लागि गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाहले नै सम्हाल्ने भएका छन्। गृहमन्त्री सुधन गुरुङले आज पदबाट राजीनामा दिएसँगै उक्त मन्त्रालय प्रधानमन्त्रीकै मातहत रहने निर्णय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
विवादित व्यवसायी दीपक भट्टसँग साझेदारी रहेको तथ्य सार्वजनिक भएपछि गुरुङमाथि चौतर्फी आलोचना बढेको थियो। सोही विषयमा निष्पक्ष छानबिन होस् भन्ने माग गर्दै उनले पदबाट राजीनामा दिएका हुन्।
सरकार गठन भएको २६ दिनमै गृहमन्त्री गुरुङले पद त्यागेका हुन्। पछिल्लो समय उनको सम्पत्तिमाथि प्रश्न उठेको थियो। उनले सार्वजनिक गरेको सम्पत्ति विवरण अस्वाभाविक रहेको भन्दै आलोचना भइरहेका बेला माइक्रो इन्स्योरेन्सलगायत क्षेत्रमा गरिएको थप लगानीको विवरण पनि बाहिर आएको थियो।
त्यसैगरी, उनले सञ्चालन गरेको ‘हामी नेपाल’ नामक सामाजिक संस्थामा आएको सहयोग रकम व्यक्तिगत खातामार्फत कारोबार गरिएको आरोपसमेत सार्वजनिक भएपछि उनीमाथि दबाब बढ्दै गएको थियो। सोही दबाबका बीच गुरुङले बुधबार पदबाट राजीनामा दिएका हुन्।