पर्सा,९ बैशाख//
सडक डिभिजन कार्यालय हेटौँडाले महेन्द्र राजमार्ग अन्तर्गत पथलैया–चुरियामाई ३ नम्बर पुल र चुरिया माईमन्दिर आसपासका क्षेत्रमा अनधिकृत रूपमा निर्माण गरिएका घरटहरा हटाउन तीन दिनको समयसीमा दिएको छ।
डिभिजन प्रमुख गुरूप्रसाद अधिकारी ले सोमबार सार्वजनिक सूचना जारी गर्दै सडकको बीच भागबाट दायाँ–बायाँ २५/२५ मिटर सीमाभित्र रहेका सबै अवैध संरचना हटाउन अनुरोध गरेका हुन्।
उनका अनुसार तोकिएको समयभित्र संरचना नहटाएमा सार्वजनिक सडक ऐन २०३१ तथा प्रचलित कानुनअनुसार कारबाही गरिनेछ। यसअघि पनि २०७३ पुस १८ र २०८० असार ९ गते लगायत विभिन्न मितिमा यस्ता संरचना हटाउन सार्वजनिक सूचना जारी गरिएको कार्यालयले जनाएको छ।
सडक विस्तार र सुरक्षालाई ध्यानमा राख्दै सडक क्षेत्रभित्र अनधिकृत निर्माण नगर्न सम्बन्धित सबैलाई कार्यालयले आग्रह गरेको छ।