काठमाडौं,६ जेठ//
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।
प्रतिनिधिसभाको आकस्मिक तथा शून्य समयमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले संविधानले प्रदान गरेको प्रेस स्वतन्त्रताको अधिकार सरकारले चाहेर पनि नियन्त्रण गर्न नसक्ने स्पष्ट पारे ।
उनले स्वतन्त्रताको अर्थ स्वच्छन्दता नभएको उल्लेख गर्दै सञ्चारमाध्यमले जिम्मेवार र मर्यादित भएर काम गर्नुपर्ने बताए । राज्यको महत्वपूर्ण अंगका रूपमा सञ्चार क्षेत्रले आफ्नो गरिमा र ओज कायम राख्दै अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
मन्त्री तिमिल्सिनाले सञ्चारमाध्यमहरू जवाफदेही पनि हुनुपर्ने उल्लेख गर्दै गरिमा र सीमाभित्र रहेर समाचार सम्प्रेषण गर्न आग्रह गरे ।
उनले भने, “प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ । संविधानले दिएको अधिकार भएकाले सरकारले चाहेर पनि केही गर्न सक्दैन । तर स्वतन्त्रता भनेको स्वच्छन्दता होइन, जवाफदेही पनि हुनुपर्छ ।”
त्यस्तै, सरकारले सञ्चार क्षेत्रलाई अझ व्यवस्थित र विश्वसनीय बनाउन प्रेस काउन्सिललाई सशक्त बनाउने तयारी थालेको जानकारी पनि उनले दिए ।
प्रतिनिधिसभाको बैठकमा केही सांसदहरूले सरकारले प्रेसमाथि नियन्त्रण गर्न खोजेको आरोप लगाउँदै सरकारको ध्यानाकर्षण गराएका थिए । साथै, प्रेस काउन्सिललाई प्रभावकारी र सक्षम बनाउन माग समेत गरेका थिए ।