जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव का जेठा ज्वाइँ दीपक यादव नेपाली कांग्रेस परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। उनको यो कदमले रौतहटको गरुडा नगरपालिकाको राजनीतिमा नयाँ बहस र चासो पैदा गरेको छ।
रौतहटको गरुडा निवासी ३६ वर्षीय यादव रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनस्थल चितवन पुगेर औपचारिक रूपमा पार्टीमा आबद्ध भएका हुन्। उनले गत चैत २७ गते नै सदस्यता लिए पनि महाधिवेशनको अवसर पारेर आफ्नो राजनीतिक यात्राको नयाँ अध्याय सार्वजनिक गरेका छन्।

लामो समयसम्म नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका यादवले पार्टीभित्र बढ्दो गुटबन्दी, अवसरको असमान वितरण तथा आफूलाई राजनीतिक रूपमा अघि बढ्न नदिने वातावरणका कारण कांग्रेस छाड्ने निर्णय गरेको बताएका छन्।
यादव परिवारको रौतहटमा कांग्रेससँग लामो राजनीतिक सम्बन्ध रहँदै आएको छ। उनका हजुरबुबा हृदयनारायण यादवले रौतहट–३ बाट पटक–पटक निर्वाचन लडेका थिए भने बुवा रामनारायण यादव २०७४ सालको प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका थिए।
२०७९ सालको स्थानीय तह निर्वाचनमा दीपक यादव तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट गरुडा नगरपालिकाको मेयर पदमा उम्मेदवार बनेका थिए। तर पछि पारिवारिक तथा राजनीतिक दबाबका कारण पुनः नेपाली कांग्रेसमा फर्किएको दाबी उनी निकट स्रोतको छ। स्रोतका अनुसार त्यतिबेला उनका ससुरा तथा हालका मुख्यमन्त्री कृष्णप्रसाद यादवको प्रभाव निर्णायक बनेको थियो।

मुख्यमन्त्री यादवका ज्वाइँको रास्वपामा प्रवेशलाई रौतहटको स्थानीय राजनीतिमा अर्थपूर्ण घटनाका रूपमा हेरिएको छ। विशेषगरी कांग्रेस, लोसपा र रास्वपाबीचको आगामी राजनीतिक समीकरणमा यसले कस्तो प्रभाव पार्छ भन्ने विषयमा गरुडा क्षेत्रमा चर्चा सुरु भएको छ।