रौतहटको कटहरिया नगरपालिका–८ स्थित श्री प्राथमिक विद्यालय पिप्रा पोखरियाले विद्यार्थीलाई प्रदान गरिने छात्रवृत्ति रकम अभिभावकको घरदैलोमै पुगेर वितरण गर्दै फरक अभ्यासको सुरुआत गरेको छ।
विद्यालयले आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ अन्तर्गतको छात्रवृत्ति विद्यालयमा अध्ययनरत विद्यार्थीलाई दमासाही आधारमा वितरण गरेको हो।
वडा अध्यक्ष समिश विक्रम साह र विद्यालयका प्रधानाध्यापक बिनोदप्रसाद यादवले संयुक्त रूपमा अभिभावकको घरमै पुगेर छात्रवृत्ति रकम हस्तान्तरण गरेका हुन्।
वडा अध्यक्ष साहले छात्रवृत्ति रकम वास्तविक लाभग्राहीसम्म पारदर्शी र सहज रूपमा पुगोस् भन्ने उद्देश्यले घरदैलोमै पुगेर वितरण गरिएको बताए। उनका अनुसार यसले वितरण प्रक्रियालाई थप विश्वसनीय बनाउनुका साथै अभिभावकमा सरकारी सेवाप्रतिको विश्वाससमेत बढाउने अपेक्षा गरिएको छ।
उनले छात्रवृत्तिले विद्यार्थीको शैक्षिक विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्दै शिक्षाको गुणस्तर सुधार र विद्यालयप्रति अभिभावकको अपनत्व बढाउन वडा कार्यालयले आवश्यक सहयोगलाई निरन्तरता दिने बताएका छन्। प्रधानाध्यापक यादवले छात्रवृत्ति वितरणलाई पारदर्शी, प्रभावकारी र झन्झटरहित बनाउन विद्यालयले घरदैलोमै पुगेर रकम हस्तान्तरण गर्ने निर्णय गरेको बताए।
उनले छात्रवृत्तिको सदुपयोग गरी विद्यार्थीको नियमित पठनपाठनमा सहयोग पुर्याउन अभिभावकलाई आग्रह गर्दै विद्यालयले गुणस्तरीय शिक्षाका लागि विभिन्न सुधारका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिएका छन्।
घरमै पुगेर छात्रवृत्ति प्राप्त गरेपछि अभिभावकहरूले विद्यालयको पहलप्रति खुसी व्यक्त गरेका छन्। उनीहरूले यस प्रक्रियाले विद्यालय धाउनुपर्ने झन्झट हटेको, समयको बचत भएको र सरकारी सुविधा पारदर्शी रूपमा वास्तविक लाभग्राहीसम्म पुगेको प्रतिक्रिया दिएका छन्।
विद्यालयको यो अभ्यासलाई स्थानीयस्तरमा सकारात्मक पहलका रूपमा हेरिएको छ।