रौतहट, साउन ३
मनसुन सक्रिय भएसँगै बागमती नदीमा बाढी र कटानको जोखिम बढ्न थालेपछि रौतहट–सर्लाही सीमावर्ती क्षेत्रमा उच्चस्तरीय सरकारी टोलीले संयुक्त स्थलगत अनुगमन गरेको छ। जोखिमयुक्त बस्तीको अवस्था मूल्याङ्कन गर्दै विपद् पूर्वतयारीलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आवश्यक निर्देशनसमेत दिइएको छ।
प्रतिनिधिसभा सदस्य राजेश चौधरी, संविधानसभा सदस्य बबन सिंह, रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सीताराम रिजाल, नेपाली सेनाका कर्णेल विश्वास बिष्ट, विभिन्न सुरक्षा निकायका अधिकारी, नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष सञ्जय कार्की, स्थानीय जनप्रतिनिधि तथा सञ्चारकर्मीको सहभागितामा गढीमाई नगरपालिका–स्थित धर्मपुर पुलदेखि सर्लाहीको मैनाथपुर हुँदै सीमावर्ती क्षेत्रसम्म निरीक्षण गरिएको हो । अनुगमनका क्रममा टोलीले बागमती नदीको बहाव, तटबन्धको अवस्था, सम्भावित कटान हुने क्षेत्र तथा बाढीको उच्च जोखिममा रहेका बस्तीको वस्तुस्थिति अवलोकन गरेको थियो। निरीक्षणपछि सम्भावित विपद्को सामना गर्न आवश्यक जनशक्ति, उद्धार सामग्री, राहत व्यवस्थापन र आपत्कालीन तयारीलाई चुस्त राख्न सम्बन्धित निकायलाई निर्देशन दिइएको जनाइएको छ।
प्रमुख जिल्ला अधिकारी भुसालले मनसुनका बेला बाढीको जोखिमलाई सामान्य रूपमा नलिन आग्रह गर्दै नदी किनारका बासिन्दालाई प्रशासनबाट जारी हुने आधिकारिक सूचना तथा चेतावनीको पालना गर्न अनुरोध गरेका छन्। कुनै पनि असामान्य अवस्था देखिए तत्काल स्थानीय प्रशासन वा सुरक्षा निकायलाई जानकारी गराउन उनले आग्रह गरेका छन्।