रौतहट । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको हिंसात्मक घटनाले पूर्वी नेपालका विभिन्न जिल्लासम्म तनाव फैलाएपछि नेपाल सरकारले शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न विशेष पहल थालेको छ। घटनामा एक जनाको मृत्यु भएपछि उत्पन्न परिस्थितिलाई लिएर सरकारले छानबिन समिति गठन गर्नुका साथै पीडितलाई क्षतिपूर्ति र दोषीमाथि कडा कारबाही गर्ने प्रतिबद्धता जनाएको छ।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव हेमराज अर्यालद्वारा जारी विज्ञप्तिअनुसार घटनामा ज्यान गुमाएका व्यक्तिप्रति सरकारले श्रद्धाञ्जली व्यक्त गरेको छ भने घाइते नागरिक र सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। घटनामा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत मिलाइएको सरकारको भनाइ छ।
घटनाको वास्तविक कारण, जिम्मेवार पक्ष र त्यसपछिका गतिविधिबारे तथ्यगत अध्ययन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ। समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ। समितिले यस्ता घटना भविष्यमा दोहोरिन नदिन आवश्यक नीतिगत तथा प्रशासनिक सुझावसमेत दिने अपेक्षा गरिएको छ।
देवानगञ्जको घटनापछि सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट आएका प्रतिक्रिया तथा केही जिल्लामा देखिएको तनावपूर्ण अवस्थालाई ध्यानमा राख्दै सरकारले सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ। विज्ञप्तिमा कुनै पनि असन्तुष्टि वा विवादको समाधान हिंसा र मुठभेडबाट नभई संवाद र कानुनी प्रक्रियाबाट खोजिनुपर्नेमा जोड दिइएको छ।
सरकारले धार्मिक तथा साम्प्रदायिक सद्भाव बिथोल्ने गतिविधिप्रति विशेष सतर्कता अपनाएको संकेत पनि दिएको छ। नेपाली समाजको पहिचानका रूपमा रहेको धार्मिक सहिष्णुता, सामाजिक एकता र आपसी सद्भावलाई कमजोर पार्ने प्रयास नगर्न तथा भ्रामक सूचना, अफवाह र उत्तेजनात्मक सामग्री नफैलाउन सरकारको आग्रह छ। यस्ता सामग्रीबाट प्रभावित नहुन पनि सर्वसाधारणलाई अपिल गरिएको छ।
सरकारले घटनाबाट प्रभावित परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याउँदै कानुनविपरीत गतिविधिमा संलग्न जोसुकैलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ। सुरक्षा निकायलाई पनि शान्ति सुव्यवस्था कायम राख्न आवश्यक सतर्कता अपनाउन निर्देशन दिइएको स्रोतले जनाएको छ।
पूर्वी नेपालका केही स्थानमा बढ्दो संवेदनशीलता र सामाजिक सद्भावमाथि चुनौती देखिएको सन्दर्भमा सरकारले राजनीतिक दल, नागरिक समाज, धार्मिक संघसंस्था, सञ्चारमाध्यम तथा आम नागरिकलाई जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गरेको छ। सरकारको भनाइमा शान्त, सभ्य र सहिष्णु समाज निर्माणका लागि सबै पक्षको संयमता र सहयोग अहिलेको प्रमुख आवश्यकता हो।
देवानगञ्ज घटनाको छानबिन प्रतिवेदन सार्वजनिक भएपछि घटनाको वास्तविक कारण, सुरक्षा व्यवस्थाको अवस्था र जिम्मेवार पक्षबारे थप स्पष्ट हुने अपेक्षा गरिएको छ। त्यसअघि सरकारले अफवाहभन्दा आधिकारिक सूचनामा विश्वास गर्न र सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग आग्रह गरेको छ।