रौतहट, २९ असोज
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रौतहट निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य गणेश पौडेलले आगामी स्थानीय तह निर्वाचनका लागि पार्टीले अघि सारेको ‘नगरपालिका क्यान्डिडेट क्लब’ बारे सार्वजनिक गरेका छन्। उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत नगरपालिकाको नेतृत्व गर्न इच्छुक व्यक्तिलाई लक्षित गर्दै पार्टीको उम्मेदवार छनोट प्रक्रियाबारे जानकारी दिएका हुन्।
रास्वपाले स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखाअन्तर्गत नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला गरेको छ। यस कार्यक्रममार्फत देशभरका २७६ नगरपालिकामा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य पदका लागि कुल १६ हजार १४७ जनप्रतिनिधिका उम्मेदवार छनोट प्रक्रिया अघि बढाइने उल्लेख छ।
पार्टीले सार्वजनिक गरेको विवरणअनुसार २७६ नगरप्रमुख र २७६ उपप्रमुख, ३ हजार ११९ वडाध्यक्ष तथा १२ हजार ४७६ वडा सदस्यका लागि उम्मेदवार छनोट गर्ने तयारी गरेको छ। यसरी नगरपालिका तहका विभिन्न पदमा पार्टीको आधिकारिक उम्मेदवार छनोट गर्ने प्रक्रिया अघि बढाउन लागिएको हो।
पौडेलले सार्वजनिक गरेको सन्देशमा नगरको विकासका लागि अरूले बनाइदिने प्रतीक्षा गर्नुभन्दा आफैँ मैदानमा उत्रिएर काम गर्ने सोच आवश्यक रहेको उल्लेख छ। इमानदारिता, क्षमता र स्पष्ट योजनाका साथ आफ्नै कार्यकालमा नगरको रूपान्तरण गर्न चाहने व्यक्तिका लागि नगरपालिका क्यान्डिडेट क्लब अवसर बन्न सक्ने सन्देशमा उल्लेख गरिएको छ।
‘गुनासो गर्ने भिडबाट निस्केर आफैँ मैदानमा उत्रिएर काम गर्ने हुटहुटी’ लाई जोड दिँदै सार्वजनिक गरिएको सन्देशले स्थानीय तहको नेतृत्व लिन इच्छुक व्यक्तिलाई उम्मेदवार छनोट प्रक्रियामा सहभागी हुन आह्वान गरेको छ। रास्वपाले इच्छुक व्यक्तिलाई पार्टीको मोबाइल एपमा लगइन गरेर आवेदन दिन आग्रह गरेको छ। आवेदनका लागि पार्टीले उपलब्ध गराएको “मोबाइल एपको लिंक“ प्रयोग गर्न सकिनेछ।
नगरपालिका क्यान्डिडेट क्लबमार्फत स्थानीय तहमा पार्टीको आधिकारिक उम्मेदवार छनोट गर्ने प्रक्रिया अघि बढाउने रास्वपाको तयारी छ। तर आवेदनका लागि आवश्यक योग्यता, छनोटका विस्तृत मापदण्ड र आवेदनको अन्तिम मितिबारे पौडेलले सार्वजनिक गरेको विवरणमा खुलाइएको छैन। यसबारे पार्टीबाट जारी हुने थप सूचनाले स्पष्ट पार्नेछ।स्थानीय तह निर्वाचनमा नगरप्रमुखदेखि वडा सदस्यसम्मका पदमा उम्मेदवार छनोट गर्ने रास्वपाको यो पहलले नगरपालिकाको नेतृत्व गर्न इच्छुक व्यक्तिलाई पार्टीको प्रक्रियामा सहभागी हुने अवसर दिने देखिएको छ।