रौतहट —बडा दसैँमा दुर्गा भवानीको दर्शन गर्न भक्तजनको घुइँचो लाग्ने रौतहटको दुर्गा भगवती गाउँपालिका–३ मत्सरी जाने सडकको अवस्था भने दयनीय छ। सुकदेव चोकदेखि गंगापिपरा हुँदै मत्सरी जोड्ने सडकमा ठाउँठाउँमा कालोपत्रे उप्किएको छ। खाल्डाखुल्डी र जमेको पानीले सडक अस्तव्यस्त बनेपछि यात्रु तथा सवारी चालकले सास्ती खेप्नुपरेको छ।
चन्द्रपुर–गौर सडकखण्डको सुकदेव चोकबाट छुट्टिने यो सडक स्थानीयको दैनिक आवागमनको महत्त्वपूर्ण मार्ग हो। बडा दसैँका बेला मत्सरीमा लाग्ने दुर्गापूजामा सहभागी हुन विभिन्न स्थानबाट भक्तजन आउने भएकाले यस सडकमा सवारीसाधनको चापसमेत बढ्ने गर्छ। तर सडकको जीर्ण अवस्थाले यात्रालाई सहज बनाउनुको सट्टा जोखिमपूर्ण बनाएको छ।
सडकका कतिपय ठाउँमा कालोपत्रे भत्किएर गिट्टी र माटो बाहिर निस्किएका छन्। खाल्डामा पानी जम्दा सडकको वास्तविक अवस्था छुट्याउन कठिन हुन्छ। मोटरसाइकल र टेम्पुजस्ता साना सवारीसाधन खाल्डा छल्दै अघि बढ्नुपर्ने बाध्यतामा छन्। पानी जमेको र हिलो भएको ठाउँमा सवारीसाधन चिप्लिने जोखिमसमेत छ।
सुकदेव चोकका स्थानीयका अनुसार सडकको अवस्थाले दैनिक आवतजावत गर्ने सर्वसाधारणलाई लामो समयदेखि दुःख दिइरहेको छ। चाडपर्वका बेला सडकमा यात्रुको चाप बढ्ने भए पनि मर्मतसम्भारमा पर्याप्त ध्यान नदिइएको उनीहरूको गुनासो छ।
बम नहर क्षेत्रमा भेटिएका एक यात्रुले सडकको अवस्थाका कारण सहज रूपमा यात्रा गर्न नसकिएको बताए। खाल्डाखुल्डी छल्दै अघि बढ्नुपर्ने र पानी जमेको ठाउँमा सवारीसाधन चलाउन थप सावधानी अपनाउनुपर्ने उनको भनाइ छ।
सडकको अवस्थाले टेम्पु तथा अटो चालकलाई आर्थिक रूपमा समेत असर पारेको छ। दिनभरि यात्रु ओसारेर कमाएको रकमबाट घरखर्च चलाउने चालकका लागि सवारीसाधन मर्मतको खर्च थप बोझ बनेको छ। खाल्डाखुल्डीका कारण सवारीसाधन बिग्रिए कमाइभन्दा मर्मत खर्च बढी हुने गरेको एक चालकले बताए।
मत्सरीमा दसैँका बेला भक्तजनको चाप बढ्ने भएकाले सडकको अवस्था सुधार गर्नु आवश्यक देखिन्छ। तत्काल खाल्डाखुल्डी पुर्ने, पानी निकासको व्यवस्था मिलाउने र जोखिमयुक्त स्थानमा मर्मत गर्ने काम गर्नुपर्ने स्थानीयको माग छ। दीर्घकालीन स्तरोन्नतिको काम अघि बढे पनि त्यसको लाभ यात्रुले कहिलेदेखि पाउने भन्ने स्पष्ट हुन सकेको छैन।
धार्मिक महत्त्व बोकेको मत्सरीमा दसैँ मनाउन आउने भक्तजनका लागि सडक सहज र सुरक्षित हुनु आवश्यक छ। तर सडकको वर्तमान अवस्थाले स्थानीयवासीदेखि बाहिरबाट आउने यात्रुसम्मलाई सास्ती दिएको छ। सम्बन्धित निकायले सडकको अवस्थाबारे अनुगमन गरी तत्काल मर्मत र दीर्घकालीन स्तरोन्नतिको काम अघि बढाउनुपर्ने देखिन्छ।