रौतहट, २३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चन्द्रपुर नगर सभापति अरुण लामाले आगामी स्थानीय तह निर्वाचनमा नेताको निकटताका आधारमा नभई जनताले रुचाएको र जनताकै बीचबाट आएको व्यक्तिले उम्मेदवार बन्ने बताएका छन्।
रास्वपाले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै बिहीबार चन्द्रपुरमा सञ्चालन गरेको ‘हामी आउँदैछौँ’ अभियानका क्रममा लामा उक्त कुरा बताएका हुन्। उनले ‘हामी आउँदैछौँ’ अभियान चुनावी अभियानमा मात्र सीमित नभई जनताको घरदैलोमा पुगेर उनीहरूको कुरा सुन्ने, समस्या बुझ्ने र समाधानका लागि प्रतिबद्ध हुने अभियान भएको बताए।
लामाले स्वास्थ्य, शिक्षा, रोजगारी, सडक, खानेपानी तथा सुशासनजस्ता आधारभूत विषयमा अब आश्वासनभन्दा परिणाम देखिने काम आवश्यक रहेको बताए। चन्द्रपुर नगरवासी एकजुट भएर नगरको सुनौलो भविष्य निर्माणमा सहभागी हुनुपर्ने उनको भनाइ थियो।
‘घामपानी नभनी हामी जनताको घरदैलोमा पुग्नुपर्छ। जनताका समस्या सुन्नुपर्छ र समाधानका लागि प्रतिबद्ध हुनुपर्छ,’ उनले भने, ‘सरकारले पछिल्लो छ महिनामा गरेका कामबारे पनि जनतामाझ जानकारी पुर्याउन आवश्यक छ।’
स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोटको पुरानो शैली परिवर्तन गर्नुपर्नेमा जोड दिँदै लामाले नेताको घर धाउने वा नेतृत्वसँगको निकटताका आधारमा टिकट पाउने परम्परा अन्त्य हुनुपर्ने बताए। जनताको बीचबाट जनताले रोजेको व्यक्तिलाई उम्मेदवार बनाउने सन्देश जनतामाझ पुर्याउनुपर्ने उनको भनाइ थियो।
‘नेताको घरमा धाएर वा नेतासँग नजिक भएर टिकट पाउने होइन,’ लामाले भने, ‘जनताको बीचबाट जनताले रोजेको व्यक्तिले स्थानीय निर्वाचनमा अवसर पाउने वातावरण बनाउनुपर्छ।’
कार्यक्रममा रास्वपाका प्रदेश सदस्य रञ्जित राम, जिल्ला सभापति प्रदीप साह, उपसभापति उपेन्द्र यादव, क्षेत्रीय सभापति सच्चिनानन्द, प्रतिनिधिसभा सदस्य सीताराम साह, सुसील कुमार कानु, जुली यादव, केन्द्रीय सदस्यलगायत पार्टीका नेता तथा सदस्यहरूको सहभागिता थियो।
कार्यक्रमको उद्घोषण रास्वपा चन्द्रपुर नगर समितिका मकुन्द पौडेलले गरेका थिए।
कार्यक्रम सफल बनाउन चन्द्रपुर नगर समिति परिवार, वडा समिति परिवार, र्यापिड टिम तथा कार्यक्रममा उपस्थित सम्पूर्ण सदस्यहरूको महत्वपूर्ण सहयोग रहेको नगर सभापति लामाले बताए। उनले कार्यक्रममा उपस्थित भद्रभलाद्मी, पत्रकार, बुद्धिजीवी तथा रास्वपालाई माया गर्ने शुभेच्छुकहरूको विशेष सहयोग र सद्भावप्रति धन्यवाद व्यक्त गरे।
‘आजको कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने चन्द्रपुर नगर समिति परिवार, वडा समिति परिवार, र्यापिड टिम तथा सम्पूर्ण उपस्थित महानुभावप्रति विशेष धन्यवाद व्यक्त गर्दछु,’ लामाले भने, ‘भद्रभलाद्मी, पत्रकार, बुद्धिजीवी तथा राष्ट्रिय स्वतन्त्र पार्टीलाई माया गर्ने शुभेच्छुकहरूको साथ, सहयोग र सद्भावले नै आजको कार्यक्रम सफल भएको हो।’
रास्वपाले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरेको ‘हामी आउँदैछौँ’ अभियानअन्तर्गत चन्द्रपुरमा आयोजित कार्यक्रममा स्थानीय तहको निर्वाचन तयारी, संगठन विस्तार तथा जनतासँग प्रत्यक्ष संवादका विषयमा छलफल गरिएको थियो। पार्टीले अभियानलाई स्थानीय तहसम्म विस्तार गर्दै जनताका समस्या, सुझाव र अपेक्षालाई आगामी राजनीतिक कार्यक्रमसँग जोड्ने जनाएको छ।