चन्द्रनिगाहपुर । चन्द्रपुर नगरपालिका–६ का वडाध्यक्ष सहदेव के.सी.ले सार्वजनिक सडक तथा बाटो अतिक्रमण गरी राखिएका निर्माण सामग्री र संरचना हटाउन सात दिनको समयसीमा तोकेका छन् ।
वडा कार्यालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै वडा क्षेत्रभित्रका सडकको दायाँ–बायाँ गिट्टी, बालुवा, ढुंगा लगायतका निर्माण सामग्री थुपार्ने तथा सडकको क्षेत्राधिकार (राइट अफ वे) अतिक्रमण गरी घरपायक संरचना बनाउने क्रम बढेको भन्दै त्यस्ता अवरोध हटाउन सम्बन्धितलाई आग्रह गरेको हो ।
वडाध्यक्ष के.सी.का अनुसार सडकमा निर्माण सामग्री थुपार्ने तथा सडक क्षेत्र अतिक्रमण गर्ने प्रवृत्तिले सर्वसाधारणको आवागमनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढाएको छ । त्यसलाई व्यवस्थित गर्न वडा कार्यालयले सार्वजनिक सूचना जारी गरेर अतिक्रमण तथा अवरोध हटाउन समयसीमा तोकेको हो ।
सूचनामा प्रकाशन भएको मितिले सात दिनभित्र सडकको दायाँ–बायाँ राखिएका गिट्टी, बालुवा, ढुंगा तथा अन्य निर्माण सामग्री आफैं हटाउन भनिएको छ । त्यस्तै, बाटोको दायाँ–बायाँ निर्माण गरिएका अस्थायी वा स्थायी अवैध संरचना तथा अन्य अवरोध हटाएर सडक क्षेत्र पूर्ण रूपमा खाली गर्न सम्बन्धित सबैलाई आग्रह गरिएको छ ।
वडाध्यक्ष के.सी.ले सडक सार्वजनिक सम्पत्ति भएकाले त्यसको क्षेत्राधिकार मिचेर व्यक्तिगत प्रयोजनका लागि संरचना बनाउने वा निर्माण सामग्री राख्ने कार्यले समग्र बस्तीको आवागमन प्रभावित पार्ने बताएका छन् । तोकिएको समयभित्र सडक क्षेत्र खाली गरी वडा क्षेत्रलाई सफा, सुन्दर र व्यवस्थित बनाउन उनले स्थानीयवासी तथा सरोकारवालासँग सहयोगको अपेक्षा गरेका छन् ।
वडा कार्यालयले सार्वजनिक सडकमा अनावश्यक अवरोध तथा अतिक्रमण हटाएर सहज आवागमन सुनिश्चित गर्ने उद्देश्यले सूचना जारी गरेको जनाएको छ ।