रौतहट । रौतहटको गढीमाई नगरपालिकामा ट्र्याक्टरको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु भएको छ।
गढीमाई नगरपालिका–७ धरमपुरस्थित भित्री सडकखण्डमा बुधबार बिहान करिब ९ः१५ बजे धरमपुरबाट पौराहीतर्फ जाँदै गरेको ना.६ त ८४९२ नम्बरको ट्र्याक्टरले घरअगाडि बाटोमा खेलिरहेका स्थानीय छोटेलाल यादवका ६ वर्षीय छोरा रितिक यादवलाई ठक्कर दिएको थियो।
ट्र्याक्टरको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेका बालकलाई उपचारका लागि गरुडा–स्थित बेटर नेपाल अस्पताल लगिएको थियो। उपचारकै क्रममा बिहान १०ः३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
घटनापछि ट्र्याक्टर चालक सवारीसाधन घटनास्थलमै छाडेर फरार भएका छन्। प्रहरीले चालकको खोजी गरिरहेको जनाएको छ। घटनामा प्रयोग भएको ट्र्याक्टरका धनी स्थानीय सञ्जीव यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने ट्र्याक्टरलाई प्रहरी चौकी धरमपुरमा ल्याउने प्रक्रिया भइरहेको छ।
घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक प्रमोद खड्काको कमाण्डमा SOCO सहितको टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ।