रौतहट । अविरल वर्षापछि लालबकैया नदीमा बढेको जलस्तरले मौलापुर नगरपालिका–१ मर्यादपुरस्थित तटबन्धमा तीव्र कटान गर्न थालेपछि सम्भावित क्षति रोक्न नगर प्रमुख रीना कुमारी साहले थालेको पहलसँगै प्रदेश सरकार र सुरक्षा निकाय पनि सक्रिय भएका छन्। कटान बढेर तटबन्ध जोखिममा परेपछि साहले तत्काल बालुवाका बोरा राखेर नियन्त्रणको प्रयास गर्नुका साथै प्रदेश सरकारसँग स्थायी प्रकृतिको तटबन्ध निर्माणका लागि सहयोग मागेकी छन्।
नदीको बहाव बढेसँगै तटबन्ध कटान हुन थालेपछि नगर प्रमुख साह आफैं जोखिम क्षेत्रमा पुगेर अवस्थाको निरीक्षण गर्दै आएकी छन्। नगरपालिकाको स्रोत र जनशक्ति परिचालन गरेर कटान भइरहेको भागमा बालुवाले भरिएका बोरा राख्ने तथा तत्काल पानीको बहावलाई रोक्ने प्रयास गरिएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै उनले जिल्ला प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्य सुरक्षा निकायसँग समेत समन्वय गर्दै आएकी छन्।
साहले प्रदेश सरकारसँग तत्कालीन कटान नियन्त्रणसँगै पक्की तथा दीर्घकालीन तटबन्ध निर्माणका लागि आवश्यक सहयोग मागेकी छन्। नदीमा हरेक वर्ष पानीको बहाव बढ्दा मर्यादपुर क्षेत्रमा कटानको जोखिम दोहोरिने भएकाले अस्थायी उपायले मात्रै समस्या समाधान नहुने उनको भनाइ छ। यसपटक पनि पानीको बहाव बढ्न थालेपछि उनले समयमै जोखिम पहिचान गरी नियन्त्रणको काम अघि बढाएकी हुन्। यसअघि पनि नगर प्रमुख साहले प्राविधिक टोलीसहित मर्यादपुरमा लालबकैया नदीको कटान क्षेत्रको निरीक्षण गरेकी थिइन्।
नगर प्रमुख साहको आग्रह र स्थलगत अवस्थाबारे जानकारीपछि मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो आइतबार राति सुरक्षा निकायका प्रमुखसहित मर्यादपुरस्थित लालबकैया नदीको कटान क्षेत्र पुगेका थिए। रातिको अनुगमनमा मन्त्री महतोले नदीको बहाव, तटबन्धको अवस्था र तत्काल गर्नुपर्ने नियन्त्रणका उपायबारे जानकारी लिएका थिए।
स्थलगत निरीक्षणका क्रममा नगर प्रमुख साहले नगरपालिकाले गरिरहेको तत्कालीन नियन्त्रण प्रयास र तटबन्धलाई स्थायी रूपमा सुरक्षित बनाउन आवश्यक पर्ने संरचनाबारे मन्त्री महतोलाई जानकारी गराएकी थिइन्। उनले प्रदेश सरकारबाट आवश्यक सहयोग र पक्की तटबन्ध निर्माणका लागि पहल गरिदिन आग्रह गरेकी थिइन्।
मन्त्री महतोले प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। उनले विपद्को समयमा स्थानीय तहले गरेको तत्कालीन प्रयासको प्रशंसा गर्दै जोखिम न्यूनीकरणका लागि प्रदेश सरकार, स्थानीय तह र सुरक्षा निकायबीच समन्वय आवश्यक रहेको बताएका थिए। नगर प्रमुख साहले गरेको सक्रियताप्रति समेत मन्त्री महतोले धन्यवाद तथा बधाई दिएका थिए।
यसअघि आइतबार बिहान पनि प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलको नेतृत्वमा जिल्ला प्रशासन तथा सुरक्षा निकायको टोलीले मर्यादपुरस्थित लालबकैया नदीको तटबन्धको स्थलगत निरीक्षण गरेको थियो। निरीक्षण टोलीमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सीताराम रिजाल, नारायण दल गण रौतहटका प्रमुख सेनानी विश्वास विष्ट, सशस्त्र प्रहरी बल नेपाल नं. ११ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक चेतराज जोशी, राष्ट्रिय अनुसन्धान कार्यालय रौतहटका उपअनुसन्धान निर्देशक कुमार बुढाथोकीलगायत सुरक्षा अधिकारी तथा स्थानीय जनप्रतिनिधि सहभागी थिए।
अनुगमन टोलीले नदीको बहाव, तटबन्धको अवस्था तथा थप कटान र डुबानको सम्भावित जोखिमबारे जानकारी लिएको थियो। प्रमुख जिल्ला अधिकारी पौडेलले तटबन्ध भत्किए आसपासका मौलापुर, गम्हरिया, बरगिनिया, शीतलपुर, सन्तपुर र पेटभरवासलगायत बस्ती प्रभावित हुनसक्ने भन्दै सुरक्षा निकायलाई जोखिमयुक्त क्षेत्रमा निगरानी र आवश्यक तयारी बढाउन निर्देशन दिएका थिए।
रौतहट प्रशासनले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोलीलाई जोखिमयुक्त क्षेत्रमा परिचालन गरी नदीको बहाव र तटबन्धको अवस्था निरन्तर निगरानीमा राखेको जनाएको छ।
लालबकैया नदीको जलस्तर बढिरहेका बेला मर्यादपुरको तटबन्धमा भइरहेको कटानले आसपासका बस्ती र खेतीयोग्य जमिनमा डुबानको जोखिम बढाएको छ। निजगढस्थित मापन केन्द्रमा आइतबार बिहान नदीको जलस्तर २३८ सेन्टिमिटर पुगेको थियो, जुन २५० सेन्टिमिटरको खतराको तहभन्दा १२ सेन्टिमिटर मात्रै कम हो।
स्थानीय तहले बालुवाका बोरा राखेर तत्काल कटान रोक्ने प्रयास गरे पनि त्यसले दीर्घकालीन समाधान नदिने देखिन्छ। त्यसैले नगर प्रमुख साहले प्रदेश सरकारसँग माग गरेझैं जोखिमयुक्त स्थानमा पक्की तटबन्ध निर्माण, प्राविधिक अध्ययन र स्थायी नदी नियन्त्रण संरचनालाई प्राथमिकतामा राख्नुपर्ने देखिएको छ।