रौतहट — माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाँचौं) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादवविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार यादवले जिल्ला विकास समिति, रौतहटको स्थानीय ट्रष्ट कोष समितिमा सामाजिक परिचालक पदमा नियुक्ति लिने क्रममा भारतको Bihar Intermediate Education Council, Patna बाट जारी भएको देखिने आईए तहको झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका थिए।
यादवले पेस गरेको शैक्षिक प्रमाणपत्रमाथि छानबिन गर्न माग गर्दै उजुरी परेपछि आयोगले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा उक्त प्रमाणपत्र झुट्टा तथा नक्कली रहेको खुलेको अख्तियारले जनाएको छ।
नक्कली प्रमाणपत्रकै आधारमा नियुक्ति लिएपछि यादवले हालसम्म राष्ट्रसेवकको हैसियतमा कार्यरत रही पद, ओहोदा, लाभ तथा सुविधासमेत प्राप्त गरेको आयोगको अनुसन्धानबाट देखिएको छ।
अख्तियारले यादवको कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको निष्कर्ष निकालेको छ।
सोही आधारमा आयोगले यादवलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी गरेको छ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार यादवविरुद्ध बिहीबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो। अब यादवमाथिको कसुर तथा सजायसम्बन्धी अन्तिम निर्णय विशेष अदालतबाट हुने छ।