रौतहट, ८ असोज । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको धनसारमा ईभी गाडी र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार अर्का एक युवक गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा फतुवा विजयपुर नगरपालिका–५ सन्तपुर दोस्तियाका २० वर्षीय सन्देश यादव रहेका छन्। दुर्घटनामा घाइते कटहरिया नगरपालिका–८ बलुवा टोलका २० वर्षीय राजगीर यादवको वीरगञ्जमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार बुधबार साँझ गुजरा नगरपालिका–३ स्थित धनसार गेटबाट करिब एक किलोमिटर दक्षिण कल्भर्ट नजिक दुर्घटना भएको हो।
निजगढतर्फबाट आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०५९५ नम्बरको ईभी र विपरीत दिशाबाट आउँदै गरेको बा ८५ प ४६२५ नम्बरको मोटरसाइकल आमनेसामने ठोक्किएका थिए।
दुर्घटनामा सन्देशको हात, खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो। राजगीरको दाहिने हात, दुवै खुट्टा तथा शरीरका अन्य भागमा चोट लागेको प्रहरीले जनाएको छ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर रादेसकुमार खत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले दुवै घाइतेलाई उद्धार गरी चन्द्रपुरस्थित शिविल अस्पताल पुर्याएको थियो।
उपचारकै क्रममा साँझ करिब ७ बजे सन्देशको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रारम्भिक उपचारपछि राजगीरलाई थप उपचारका लागि वीरगञ्ज पठाइएको छ।
दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।