रौतहट — फतुवा विजयपुर नगरपालिकाका निलम्बित मेयर गोपाल राय यादवलाई लालबकैया नदीको ढुंगा, गिट्टी तथा बालुवाको ठेक्का प्रकरणमा भएको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट पनि राहत मिलेन। विशेष अदालतले गरेको फैसलाविरुद्ध यादवले दायर गरेको पुनरावेदन सर्वोच्च अदालतले सोमबार अस्वीकार गरेपछि उनलाई सुनाइएको तीन वर्ष कैद र १५ लाख रुपैयाँ जरिवाना कायम भएको छ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र महेश शर्मा पौडेलको संयुक्त इजलासले यादवको पुनरावेदनमा ‘पुनरावेदन जिकिर नपुगेको’ आदेश गरेको हो। सर्वोच्चको आदेशसँगै विशेष अदालतले २०८० असोज २४ गते सुनाएको सजाय यथावत् भएको हो।
लालबकैया नदीको आन्तरिक आय व्यवस्थापन तथा नदीजन्य पदार्थको ठेक्कासँग सम्बन्धित यो मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७५/७६ मा भएको ठेक्का प्रक्रियामा कानुनविपरीत काम गरी स्थानीय तहलाई आर्थिक नोक्सानी पुर्याएको आरोप लगाएको थियो। अख्तियारले २०७९ असार १२ गते यादवसहित २१ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
अख्तियारका अनुसार गुजरा नगरपालिका र फतुवा विजयपुर नगरपालिकाले संयुक्त रूपमा लालबकैया नदीबाट ढुंगा, गिट्टी र बालुवा उत्खनन तथा बिक्रीका लागि ठेक्का लगाउने र त्यसबाट प्राप्त आम्दानीमध्ये फतुवा विजयपुरले ६० प्रतिशत तथा गुजराले ४० प्रतिशत पाउने निर्णय भएको थियो। तर ठेक्का प्रक्रियामा भएको निर्णय कार्यान्वयन नगरेको, बढी कबोल गर्ने बोलपत्रदाताले सम्झौता गर्न नमानेपछि दोस्रो बढी कबोल गर्ने बोलपत्रदातालाई सम्झौताका लागि नबोलाएको र पहिलो बोलपत्रदाताको धरौटी जफत नगरेकोलगायतका विषयमा अख्तियारले प्रश्न उठाएको थियो।
अख्तियारले उक्त प्रक्रियाबाट स्थानीय तहको आन्तरिक आयमा १ करोड ५३ लाख ५० हजार १९९ रुपैयाँ हानि भएको दाबी गरेको थियो। विशेष अदालतमा दायर अभियोगमा यादवसहित तत्कालीन उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य तथा प्रमुख प्रशासकीय अधिकृतसमेतलाई प्रतिवादी बनाइएको थियो।
विशेष अदालतले २०८० असोज १७ गते यादवलाई कसुरदार ठहर गरेको थियो। सोही मुद्दामा प्रतिवादी बनाइएका अन्य २० जनालाई भने विशेष अदालतले सफाइ दिएको थियो। त्यसपछि असोज २४ गते यादवलाई तीन वर्ष कैद र १५ लाख रुपैयाँ जरिवाना हुने फैसला गरिएको थियो।
विशेष अदालतको फैसलाविरुद्ध यादव सर्वोच्च अदालत पुगेका थिए। तर सर्वोच्चले उनको पुनरावेदन जिकिर नपुगेको ठहर गर्दै अस्वीकार गरेपछि अब विशेष अदालतबाट भएको दोषी ठहर र सजाय कायम भएको छ।
यादव २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट फतुवा विजयपुर नगरपालिकाको मेयरमा दोस्रोपटक निर्वाचित भएका थिए। भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएपछि उनी निलम्बित भएका छन्। उनको निलम्बनपछि उपमेयर अम्बेया खातुनले कार्यवाहक नगर प्रमुखको जिम्मेवारी सम्हाल्दै आएकी छन्। नगरपालिकाको आधिकारिक वेबसाइटमा पनि गोपाल राय यादवलाई नगर प्रमुख र अम्बेया खातुनलाई कार्यवाहक नगर प्रमुखका रूपमा उल्लेख गरिएको छ।