रौतहट। रौतहट क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य रविन्लेद्र पटेलले आफ्नो क्षेत्रका विभिन्न स्थानमा वर्षौंदेखि अलपत्र अवस्थामा रहेका पुल निर्माणको विषय प्रतिनिधिसभामा उठाएका छन्।
बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद पटेलले आफ्नो निर्वाचन क्षेत्रमा १०-१२ वर्षदेखि निर्माणाधीन रहेका पुलहरू अझै पूरा हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। उनले कोठियार पुल, गरुडाको पुल, लामाहा खोलाको पुल, प्रतापपुर–पल्टुवाको पुल तथा मौलापुर नगरपालिका–६ र ७ को बीचमा पर्ने भकुवा खोला पुल लामो समयदेखि अधुरो रहेको बताए।
पुल निर्माणका लागि बजेट जाने तर ठेकेदारले काम नगर्ने र सम्बन्धित कर्मचारीले पनि ठेक्का रद्द नगर्ने प्रवृत्तिका कारण आयोजना वर्षौंसम्म अलपत्र परेको उनको भनाइ थियो।
‘पैसा जान्छ, ठेकेदार काम गर्दैन र कर्मचारीले पनि ठेक्का रद्द गर्दैन,’ उनले संसद्मा प्रश्न गरे, ‘एक दशक भयो यही तरिकाले विकास कसरी सम्भव छ?’
उनले लामो समयदेखि निर्माण हुन नसकेका यस्ता आयोजनालाई सरकारले गम्भीरतापूर्वक लिएर समयमै निर्माण सम्पन्न गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्।