रौतहट । रसुवागढीमा भदौ १० गते आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहतका लागि जनता समाजवादी पार्टी (जसपा) नेपाल रौतहटले १ लाख १६ हजार ५ सय रुपैयाँ सहयोग गरेको छ।
जसपा नेपाल रौतहटका जिल्ला अध्यक्ष तथा बौधिमाई नगरपालिकाका पूर्व नगरप्रमुख राजिव रंजन यादवले बुधबार सामाजिक सञ्जालमार्फत उक्त सहयोगबारे जानकारी गराएका हुन्। यादवका अनुसार पार्टीका तर्फबाट संकलित रकम प्रधानमन्त्रीको विपद् राहत कोषमा जम्मा गरिएको हो।
विनाशकारी बाढीका कारण रसुवागढी क्षेत्रमा ठूलो जनधनको क्षति भएको र विपद्को घडीमा पीडितको साथमा उभिनुपर्ने दायित्वलाई आत्मसात् गर्दै सहयोग रकम उपलब्ध गराइएको यादवले बताएका छन्।
यादवले विपद्का कारण ज्यान गुमाएका सबैप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना पनि प्रकट गरेका छन्। साथै उनले घाइते तथा प्रभावितको शीघ्र उद्धार, उपचार र पुनःस्थापनाका लागि प्रार्थना गर्दै विपद्बाट प्रभावित परिवारलाई सहयोग गर्न सबै पक्षसँग आग्रह गरेका छन्।
जसपा रौतहटको यो सहयोगले विपद्का बेला राजनीतिक दल तथा सामाजिक संस्थाहरूले मानवीय सेवामा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने सन्देश दिएको छ। अध्यक्ष यादवले विपद्मा परेकाहरूको उद्धार, राहत र पुनःस्थापनाका लागि आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।