चन्द्रपुर (रौतहट) । रसुवा–भोटेकोशी क्षेत्रमा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि रौतहटको चन्द्रपुरबाट राहत सामग्री तथा आर्थिक सहयोग पठाइएको छ। अखिल नेपाल यातायात मजदुर संघ जिल्ला समिति रौतहट, चन्द्रपुर ई–रिक्सा इकाइ कमिटी र चेतनगरको विशेष पहलमा स्थानीयस्तरबाट संकलन गरिएको राहत सामग्री बाढीपीडितका लागि पठाइएको हो।
राहत संकलन अभियानमा चन्द्रपुरका यातायात मजदुर, व्यवसायी तथा स्थानीय नागरिकले नगदसँगै खाद्यान्न, कपडा, चामल, चिउरा, चाउचाउ, फ्रुटी तथा औषधिजन्य सामग्री सहयोग गरेका छन्।
संकलित विवरणअनुसार चन्द्रपुर–६ ई–रिक्सा इकाइ कमिटीले १५ हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको छ भने चेतनगर ई–रिक्सा इकाइ कमिटीले १५ हजार रुपैयाँ सहयोग गरेको उल्लेख छ। यस्तै, विभिन्न सहयोगीले चार बोरा चामल, दुई बोरा चिउरा, एक बोरा चामल लगायतका खाद्यान्न उपलब्ध गराएका छन्।
दीपक गोल्मले ५ हजार रुपैयाँ बराबरको खाद्यान्न, राम टेक्स साहले २ हजार १०० रुपैयाँ बराबरको खाद्यान्न, अनमोल शाहले ५०० रुपैयाँ तथा देवेन्द्र चौधरी मिर्जनीले १ हजार रुपैयाँ सहयोग गरेका छन्। त्यसैगरी शिव मोटर्स पार्ट्सले १ हजार ५०० रुपैयाँ सहयोग गरेको विवरणमा उल्लेख छ।
साजिला किराना पसलले एक कार्टुन फ्रुटी र एक कार्टुन चाउचाउ सहयोग गरेको छ भने अन्य सहयोगीहरूले समेत चामल, चिउरा तथा खाद्यान्न उपलब्ध गराएका छन्। विभिन्न मेडिकल तथा स्वास्थ्य संस्थाबाट औषधि तथा मेडिकल सामग्री समेत सहयोग भएको जनाइएको छ।
त्यस्तै, चन्द्रपुर–२ स्थित पेट्रोल पम्पबाट १२ हजार ५०० रुपैयाँ बराबरको सहयोग, अन्य व्यवसायी तथा होटल व्यवसायीबाट समेत खाद्यान्न तथा आवश्यक सामग्री उपलब्ध गराइएको विवरणमा उल्लेख छ। सुनौलो होटलले ९ हजार ६०० रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको जनाइएको छ।
अभियानमा सहयोग गर्ने सम्पूर्ण चन्द्रपुरवासीप्रति आयोजकले धन्यवाद व्यक्त गरेका छन्। विपद्को समयमा स्थानीयस्तरबाट जुटेको सहयोगले भोटेकोशी बाढीपीडितलाई केही राहत पुग्ने विश्वास गरिएको छ।
आयोजकहरूले आगामी दिनमा यस्ता प्राकृतिक विपत्ति कसैले भोग्न नपरोस् भन्ने कामनासमेत गरेका छन्।