रौतहट । रौतहटको गरुडा नगरपालिका–३ मलाहीटोलमा १६ वर्षीया किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्।
प्रहरीका अनुसार स्थानीय किसन सहनीकी १६ वर्षीया अविवाहित छोरी श्रुति कुमारी सहनी आफ्नै दुईतले घरको माथिल्लो तलाको कोठामा काठको कोरोमा सलको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्।
शनिबार बिहान करिब ४ः३० बजे घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी चौकी बरियारपुरबाट प्रहरी सहायक निरीक्षक रत्नेशकुमार झाको कमाण्डमा दुई जनाको टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थल सुरक्षित राखेको जनाएको छ।
घटनाको कानुनी प्रक्रिया तथा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक उज्वल क्षेत्रीको कमाण्डमा SOCO सहितको टोली घटनास्थलतर्फ खटिएको प्रहरीले जनाएको छ।
किशोरीले के कारणले यस्तो कदम उठाइन् भन्ने खुल्न सकेको छैन। घटनास्थल प्रहरी चौकी बरियारपुरबाट करिब दुई किलोमिटर पश्चिममा पर्छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।