रौतहट । रौतहटको ईशनाथ नगरपालिकामा दाजुभाइबीच मोटरसाइकलको विषयलाई लिएर भएको विवादपछि दुई वटा मोटरसाइकलमा आगजनी गरिएको छ।
ईशनाथ नगरपालिका–९ लोटना टोलका ४८ वर्षीय प्रमोद साह कानुले शनिबार साँझ करिब ७ बजे आफ्नै घरअगाडि राखिएका दुई वटा मोटरसाइकलमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका प्रमोदको आफ्नै भाइ ३९ वर्षीय मनोज साह कानुसँग मोटरसाइकलको विषयलाई लिएर विवाद भएको थियो। विवादका क्रममा प्रमोदले आफ्नो भारतीय नम्बरको ग्यालेम्बर मोटरसाइकल र भाइ मनोजको भारतीय नम्बरको साइन मोटरसाइकलमा पेट्रोल छर्केर आगजनी गरेका थिए।
आगलागीबाट दुवै मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भएको र करिब २ लाख २५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएपछि प्रहरी चौकी औरैयाबाट प्रहरी सहायक निरीक्षक हरिशंकर साहको कमान्डमा खटिएको टोलीले आगजनीमा संलग्न प्रमोद साह कानुलाई नियन्त्रणमा लिएको छ। दुवै जलेका मोटरसाइकल घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।