रौतहट । रौतहटको वृन्दावन नगरपालिका–२ धनगढी टोलमा २४ वर्षीय युवक घरमै झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।
स्थानीय टुनटुन राउतका करिब २४–२५ वर्षीय छोरा राजु राउत आफ्नै एकतले कच्ची घरको सुत्ने कोठामा काठको बलोमा गम्छाको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ। मृतक विवाहित रहेको प्रहरीले जनाएको छ।
शुक्रबार दिउँसो करिब २ः२५ बजे घटना सम्बन्धी जानकारी प्राप्त भएपछि प्रहरी चौकी विश्रामपुरबाट प्रहरी सहायक निरीक्षक रत्नेशकुमार झाको कमाण्डमा टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थल सुरक्षित राखेको जनाएको छ।
घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक प्रमोद खड्काको कमाण्डमा SOCO सहितको टोली घटनास्थलमा खटिएको छ।
घटनास्थल प्रहरी चौकी विश्रामपुरबाट करिब तीन किलोमिटर पश्चिममा पर्छ। युवकले के कारणले यस्तो कदम उठाए भन्ने खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।