रौतहट । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारको सहयोगका लागि गरुडा नगर उद्योग वाणिज्य संघले राहत अभियान सञ्चालन गर्ने भएको छ।
संघका अध्यक्ष सतीश साहको अध्यक्षतामा भएको छलफल तथा राहत संकलन कार्यक्रममा बाढीपीडितका लागि संघका तर्फबाट ५१ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको छ। साथै पीडित परिवारलाई तत्काल आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा, पानी, औषधि लगायतका राहत सामग्री संकलन गरी सहयोग गर्ने तयारीसमेत गरिएको छ।
संघले गरुडा बजार, कटहरिया बजार, समनपुर बजार र शिवनगर क्षेत्रका व्यापारी तथा व्यवसायीहरूबाट राहत सामग्री संकलन गर्ने जनाएको छ। विपद्को समयमा पीडित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले व्यापारी तथा स्थानीय नागरिकलाई आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रह गरिएको छ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष सतीश साहले विपद्को समयमा मानवीय सहयोग सबैभन्दा ठूलो धर्म भएकाले सबै व्यापारी तथा व्यवसायीलाई सक्दो सहयोग गर्न अनुरोध गरेका छन्। उनले नगदभन्दा आवश्यक राहत सामग्री उपलब्ध गराएर समेत बाढीपीडित परिवारलाई सहयोग गर्न सकिने भन्दै अभियानमा सबैलाई सहभागी हुन आग्रह गरे।
अध्यक्ष साहले गरुडा क्षेत्रका व्यापारीहरू एकजुट भएर राहत संकलन गर्दा पीडित परिवारलाई केही भए पनि राहत पुग्ने विश्वास व्यक्त गरे। उनले संकलन हुने राहत सामग्री व्यवस्थित रूपमा सम्बन्धित निकाय तथा पीडितसम्म पुर्याउनेतर्फ ध्यान दिइने बताए।
राहत संकलन कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा हरेन्द्र प्रसाद चौधरी, शुशिला देवी जैसवाल, शुशिल कुमार साह, विनोद दास, रामईश्वर साह, रमेश कुमार रौनियार, छठु प्रसाद साह, मनोज प्रसाद गुप्ता, राम बाबु साह तेली, उपेन्द्र प्रसाद चौधरी, शिवजी प्रसाद चौधरी, चुनचुन प्रसाद यादव, गजेन्द्र महतो कोइरी, महाशक्ति साह, निरला जितेन्द्र राय यादव, राजिव कुमार रस्तोगी, हेमलाल साह तेली, बब्लु प्रसाद जयसवाल र अनिल कुमार रस्तोगी लगायत संघका सदस्यहरूको सहभागिता रहेको थियो।
भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति भएको अवस्थामा पीडित परिवारलाई राहत तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटाउने क्रम जारी छ। सोही क्रममा गरुडा नगर उद्योग वाणिज्य संघले पनि आफ्नो तर्फबाट सहयोग घोषणा गर्दै स्थानीय व्यापारी तथा व्यवसायीहरूलाई राहत अभियानमा सहभागी गराउने पहल थालेको हो।
संघले गरुडा क्षेत्रका सम्पूर्ण व्यापारी, उद्योगी तथा व्यवसायीलाई आफ्नो क्षमता र इच्छाअनुसार राहत सामग्री वा आर्थिक सहयोग उपलब्ध गराई मानवीय सेवामा सहभागी हुन आग्रह गरेको छ। राहत संकलन अभियानलाई प्रभावकारी बनाएर बाढीबाट प्रभावित परिवारसम्म आवश्यक सहयोग पुर्याउने संघको उद्देश्य रहेको जनाएको छ।