चन्द्रपुर (रौतहट) — हालै भोटेकोशी नदीमा आएको विनाशकारी भीषण बाढी र त्यसले देशैभरि फैलाएको शोकको घडीमा चन्द्रपुरका साना बालबालिकाहरूले एक उदाहरणीय र मानवीय कार्य गरेर देखाएका छन्।
सम्पूर्ण देश बाढीको क्षति र पीडितहरूको आँसुले स्तब्ध बनिरहेका बेला, रौतहटको चन्द्रपुर-६, शान्तिनगरस्थित चन्द्रपुर एकाडेमीमा कक्षा ८ र ९ मा अध्ययनरत विद्यार्थीहरूले भने शोकलाई शक्तिमा बदल्दै 'लेमोनेड फर कज' (Lemonade for Cause) अभियान सञ्चालन गरे। बाढी पीडितको घाउमा थोरै भए पनि मलम लगाउने उद्देश्यले सञ्चालन गरिएको यस अभियानबाट विद्यार्थीहरूले कुल ३३ हजार ४ सय ४५ रुपैयाँ संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउने भएका छन्।
शोकको घडीमा २ हजारको सानो प्रयास
भोटेकोशीको बाढीले नदी तटीय क्षेत्रमा पुर्याएको ठूलो क्षति, धनजनको हानि र हजारौँ विस्थापित परिवारको खबरले बालबालिकाको मन छोयो। पीडितहरूको उद्धार र राहतका लागि केही गर्नुपर्छ भन्ने सोचका साथ विद्यार्थीहरूले सुरुमा आफ्नै साथीहरूबाट २ हजार रुपैयाँ जुटाए।
उक्त २ हजार रुपैयाँ लगानी गरी विद्यार्थीहरूले कागती, चिनी र सफा पानी व्यवस्था गरेर ताजा लेमोनेड (कागतीको सर्वत) तयार पारे। त्यसपछि विद्यार्थीहरूको टोली "हामी एक हियौँ, सँगै लड्छौँ" भन्ने भावनाका साथ सिंगो चन्द्रपुर बजार परिक्रमा गर्दै लेमोनेड बिक्री र सहयोग संकलनमा खटियो।
३३,४४५ रुपैयाँ संकलन: ३ हजार ५ सय सोधपुछविना सोझै QR मार्फत
देशमा विपद् परेको समयमा विद्यार्थीहरूले देखाएको यो सक्रियतालाई चन्द्रपुर बजारका व्यवसायी, पैदल यात्री र सर्वसाधारणले खुलेर साथ दिए। कतिपयले सर्वत खाएर सहयोग गरे भने कतिपयले विद्यार्थीहरूको यो पवित्र सोचलाई सलाम गर्दै सहयोग रकम हस्तान्तरण गरे।
सफलतापूर्वक सम्पन्न अभियानबाट निम्नानुसारको रकम संकलन भएको छ:
नगद संकलन: रु. २९,९४५/-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको QR मार्फत सोझै जम्मा: रु. ३,५००/-
कुल संकलित सहयोग राशि: रु. ३३,४४५/-
विद्यार्थीहरूको २ हजार रुपैयाँको सानो लगानी र बजारबासीको सहयोगले ३३ हजारभन्दा बढीको राहत कोषको रूप लियो, जुन शतप्रतिशत भोटेकोशी बाढी पीडितहरूकै उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बुझाइनेछ।
"सद्भाव र मानवता अझै जीवित छ" — विद्यार्थी
प्राप्त रकमभन्दा पनि यो अभियानले आफूहरूलाई जीवनको ठूलो पाठ सिकाएको विद्यार्थीहरू बताउँछन्।
सहभागी विद्यार्थीहरूले आफ्नो अनुभव साट्दै भने, "भोटेकोशी बाढीको खबरले हामी सबैको मन निकै दुखेको थियो। यस्तो दुःखद परिस्थितिमा चुपचाप बस्नुभन्दा केही सकारात्मक पहल गरौँ भन्ने लागेर हामी बजार निस्कियौँ। बजार परिक्रमा गर्दा हामीले अनुभव गर्यौँ कि विपद्को बेला सहयोग गर्न मानिसहरूको मन अझै पनि कति उदार छ। मानवता अझै जिउँदै रहेछ। यो अभियानबाट हामीले समाज, सहकार्य र सकारात्मक सोचको ठूलो पाठ सिक्यौँ।"
चन्द्रपुरबासीप्रति कृतज्ञता
भोटेकोशी बाढी पीडितका लागि गरिएको यो प्रयास सफल भएपछि कक्षा ८ र ९ का विद्यार्थीहरू निकै भावुक र खुसी देखिएका छन्। उनीहरूले आफूहरूलाई हौसला दिने र सहयोग गर्ने चन्द्रपुरका सम्पूर्ण व्यापारी, दाजुभाइ, दिदीबहिनी तथा अभिभावकहरूप्रति हृदयदेखि नै आभार व्यक्त गरेका छन्।
प्राकृतिक विपत्तिको यो कठिन घडीमा साना विद्यार्थीहरूले देखाएको यो उच्च सामाजिक दायित्वबोध, भातृत्व र सक्रियताको अहिले चौतर्फी प्रशंसा भइरहेको छ।