रौतहट । रौतहटको गरुडा नगरपालिका–७ पिपरियामा १४ वर्षीया बालिका झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्।
प्रहरीका अनुसार देवाही गोनाही नगरपालिका–३ घर भई हाल मामा जगदिश पटेलको घरमा बस्दै आएकी राम विनय पटेलकी १४ वर्षीया छोरी मिशिला पटेल सोमबार बिहान आफ्नै सुत्ने कोठामा मृत अवस्थामा फेला परेकी हुन्।
फुसको छानो भएको भुइँघरको कोठामा बाँसको कोरोमा सलको पासो लगाई झुण्डिएको अवस्थामा बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ। घटना के–कुन कारणले भएको हो भन्ने खुल्न सकेको छैन।
घटनाबारे बिहान ९ः१५ बजे इलाका प्रहरी कार्यालय गरुडामा जानकारी प्राप्त भएपछि प्रहरी निरीक्षक प्रमोद खड्काको कमाण्डमा SOCO सहितको टोली घटनास्थलमा पुगेको थियो। घटनास्थल इलाका प्रहरी कार्यालय गरुडाबाट करिब ६ किलोमिटर पश्चिम–उत्तरमा पर्छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।