रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–२ खरेन टोलमा भर्याङबाट लडेर गम्भीर घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा चन्द्रपुर–२ खरेन टोलका अन्दाजी ४० वर्षीय भीमबहादुर घिसिङ रहेका छन्।
प्रहरीका अनुसार आइतबार दिउँसो करिब १ः२० बजे आफ्नै काठको घरको भर्याङबाट माथिल्लो तल्लातर्फ जाने क्रममा घिसिङ अचानक लडेका थिए। लड्ने क्रममा तल भुइँमा रहेको काठको किलामा शरीर पर्दा उनको पेटमा गम्भीर चोट लागी आन्द्राभुँडी बाहिर निस्किएको थियो।
घाइते घिसिङलाई तत्काल चन्द्रपुरस्थित चन्द्रपुर प्रालि अस्पतालमा ल्याई उपचार गरिएको थियो। अवस्था गम्भीर भएपछि थप उपचारका लागि भरतपुरस्थित पुष्पाञ्जली अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको आफन्तले बताएका थिए।
त्यसपछि उनलाई पुनः चन्द्रपुर प्रालि अस्पताल ल्याइएकोमा चिकित्सकले साँझ ६ बजे मृत घोषणा गरेका थिए। कानुनी प्रक्रिया पूरा गरी साँझ ७ बजे शव परीक्षणका लागि सरकारी अस्पताल चन्द्रपुर पठाइएको प्रहरीले जनाएको छ।
घटनाबारे इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी निरीक्षक दिनेश थापाको कमाण्डमा सोकोसहितको टोली खटिएर थप अनुसन्धान गरिरहेको छ। घटनास्थलमा अस्थायी प्रहरी पोस्ट जुडीबेलाबाट समेत प्रहरी टोली परिचालन गरिएको थियो।