रौतहट । रौतहटको गढीमाई नगरपालिका–९ मा १७ वर्षीया किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्।
प्रहरीका अनुसार स्थानीय कृष्णनन्द सहनीकी १७ वर्षीया छोरी पुष्पा सहनी शनिबार साँझ आफ्नै दुईतले घरको माथिल्लो तलाको कोठामा काठको बिममा सलको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेकी हुन्।
शुक्रबार साँझ करिब ७ः१५ बजे उनकी आमाले पुष्पालाई झुण्डिएको अवस्थामा देखेपछि तत्काल प्रहरी चौकी बरियारपुरमा खबर गरेकी थिइन्। सूचना पाएलगत्तै प्रहरी सहायक निरीक्षक संजय झाको कमाण्डमा दुई जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीले घटनास्थल सुरक्षित राखी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक उज्वल क्षेत्रीको कमाण्डमा SOCO सहितको टोली घटनास्थलमा खटिएको जनाएको छ।
मृतक पुष्पा अविवाहित रहेको प्रहरीले जनाएको छ। घटनास्थल प्रहरी चौकी बरियारपुरबाट करिब दुई किलोमिटर दक्षिणमा पर्छ।
घटनाको कारण भने खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।