रौतहट । रौतहटको परोहा नगरपालिका–३ तेजापाकडमा १७ वर्षीया युवती आफ्नै माइतीघरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्।
प्रहरीका अनुसार तेजापाकड टोल निवासी शेख समिउल्लाकी १७ वर्षीया श्रीमती अंगुरी खातुन माइतीघरमा रहेको सुत्ने कोठामा बाँसको बल्लोमा सलको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेकी हुन्। उनी माइतीघरमा बस्दै आएकी थिइन्।
सोमबार राति मृतकका दाइले झुण्डिएको अवस्थामा देखेपछि प्रहरी चौकी लौकाहामा खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक राम नरेश दासको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
घटनास्थल सुरक्षित राखी थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक विश्वनाथ यादवको कमाण्डमा SOCO सहितको टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ।
मृतकका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा रहेको प्रहरीले जनाएको छ। कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल गौर पठाइएको थियो।
शव परीक्षणका क्रममा मृतक गर्भवती रहेको खुलेको थियो। चिकित्सकका अनुसार उनको गर्भमा करिब तीन–चार महिनाको भ्रूण रहेको थियो। शव परीक्षणका क्रममा भ्रूण निकालेर मृतक र भ्रूण दुवैको पोस्टमार्टम गरिएको प्रहरीले जनाएको छ।
पोस्टमार्टमपछि मृतक र भ्रूणको शव उनका बुबा अवास मियाले बुझेर लगेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।