रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं १० नयाँटोलस्थित श्री जनप्रिय प्राथमिक विद्यालयमा शिक्षक अभावको समस्या चुलिँदै गएपछि विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रमोदकुमार साहले आत्मदाहको चेतावनी दिएका छन्। लामो समयदेखि विद्यालयमा शिक्षकको व्यवस्था गर्न माग गर्दै नगरपालिका तथा शिक्षा शाखामा पटक–पटक लिखित र मौखिक रूपमा आग्रह गर्दा पनि सुनुवाइ नभएको भन्दै साहले २४ घण्टे अल्टिमेटमसहित आत्मदाहको चेतावनी दिएका हुन्।
विद्यालयमा हाल इमिसमा ९४ र हाजिरीमा ११० विद्यार्थी अध्ययनरत रहे पनि पठनपाठनका लागि एक जना मात्र शिक्षक कार्यरत रहेको साहले बताए। उनका अनुसार विरेन्द्र प्रसाद महतोले मात्रै विद्यालयको सम्पूर्ण कक्षा सञ्चालन गर्दै आएका छन्। विद्यार्थीको संख्या निरन्तर बढ्दै गए पनि त्यसअनुसार शिक्षक व्यवस्थापन हुन नसक्दा पठनपाठन प्रभावित भएको उनको गुनासो छ।
साहका अनुसार आफू विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्नुअघि विद्यालयमा विद्यार्थी संख्या १३ जनामा सीमित थियो। विद्यालयलाई पुनः चलायमान बनाउन अभिभावक तथा समुदायसँग समन्वय गरी विद्यार्थी भर्ना अभियान सञ्चालन गरेपछि अहिले विद्यार्थी संख्या ११० पुगेको उनले बताए। विद्यार्थी संख्या बढेपछि विद्यालयलाई पुनः एकल रूपमा सञ्चालन गर्ने प्रयास भए पनि शिक्षक व्यवस्थापनमा भने नगरपालिकाबाट अपेक्षित सहयोग नपाएको उनको आरोप छ।
“विद्यालयमा विद्यार्थी बढाएर ११० पुर्यायौं, तर शिक्षक एक जना मात्रै छन्। एक जना शिक्षकले सबै कक्षा कसरी धान्ने?” साहले भने, “शिक्षक माग गर्दै नगरपालिकामा पटक–पटक ज्ञापनपत्र बुझाएँ, मौखिक रूपमा पनि आग्रह गरेँ, तर हरेक पटक आश्वासन मात्रै पाइयो।”
उनका अनुसार विगतमा विद्यार्थी संख्या न्यून भएपछि जानप्रिये प्राथमिक विद्यालयलाई नजिकैको श्रीकृष्ण माध्यमिक विद्यालयसँग मर्ज गरिएको थियो। पछिल्लो समय विद्यार्थी संख्या बढ्दै गएपछि विद्यालयलाई पुनः छुट्टै रूपमा सञ्चालन गर्न थालिएको हो। तर विद्यालय पुनः सञ्चालनमा आएपछि पनि आवश्यक जनशक्ति उपलब्ध नगराउँदा व्यवस्थापनमा समस्या उत्पन्न भएको साहको भनाइ छ।
साहले शिक्षक व्यवस्थापनमा समेत विभेद भएको आरोप लगाएका छन्। उनका अनुसार आसपासका केही विद्यालयमा ३६ जनासम्म विद्यार्थी रहेको अवस्थामा तीन–तीन जना शिक्षक कार्यरत छन्। तर ११० विद्यार्थी रहेको जानप्रियेमा भने एक जना शिक्षकको भरमा विद्यालय सञ्चालन भइरहेको उनले बताए।
“जहाँ ३६ जना विद्यार्थी छन्, त्यहाँ तीन जना शिक्षक छन्। यहाँ ११० जना विद्यार्थी छन्, तर एक जना शिक्षकले पढाउनुपरेको छ,” उनले भने, “विद्यार्थी संख्या र आवश्यकता हेरेर शिक्षक व्यवस्थापन गर्ने हो भने हाम्रो विद्यालयले प्राथमिकता पाउनुपर्ने हो।”
शिक्षक अभावसँगै विद्यालयले लामो समयदेखि भौतिक समस्यासमेत झेल्दै आएको साहले बताए। अत्यधिक गर्मीका समयमा कक्षाकोठामा पंखा र पर्याप्त विद्युत् सुविधा नहुँदा विद्यार्थीलाई बस्नसमेत कठिन हुने गरेको उनले बताए। गर्मीका कारण विद्यार्थीहरू पटक–पटक बेहोस हुने अवस्थासमेत आएको उनको दाबी छ।
आफ्नो पहलमा चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीराज ढकालले विद्यालयका लागि १० वटा पंखा उपलब्ध गराएपछि भने कक्षाकोठामा बस्ने वातावरण केही सहज भएको साहले बताए। “गर्मीमा विद्यार्थीलाई निकै समस्या थियो। मेरो पहलपछि प्रमुख प्रशासकीय अधिकृत बद्रीराज ढकालले १० वटा पंखा उपलब्ध गराउनुभयो। अहिले कम्तीमा कक्षाकोठामा बस्न सक्ने वातावरण बनेको छ,” उनले भने।
तर शिक्षक अभावको मूल समस्या समाधान नभएसम्म विद्यालयको शैक्षिक अवस्था सुधार गर्न कठिन हुने साहको भनाइ छ। विद्यालयलाई निजी विद्यालयसरह व्यवस्थित र चलायमान बनाउने आफ्नो प्रयासमा समेत विभिन्न पक्षबाट अवरोध भएको उनले आरोप लगाए।
“विद्यालयलाई बोर्डिङजस्तै चलायमान बनाउन खोजेको छु। विद्यार्थी बढाउन खोजेको छु, अभिभावकको विश्वास बढाउन खोजेको छु,” साहले भने, “तर आफूलाई पटक–पटक असफल बनाउन खोजिएको महसुस भएको छ।”
शिक्षक अभावको समस्या समाधान नभएपछि आइतबार आफू विद्यालयमा ताल्चा लगाउन पुगेको उनले बताए। तर स्थानीय बुद्धिजीवी तथा अगुवाहरूले व्यवस्थापन समिति अध्यक्ष आफैंले विद्यालयमा ताल्चा लगाउँदा समस्या झन् गम्भीर हुने भन्दै तत्काल तालाबन्दी नगर्न आग्रह गरेपछि आफू रोकिएको साहले बताए।
स्थानीयले एकपटक पुनः नगरपालिकामा ज्ञापनपत्र बुझाएर समस्या समाधानका लागि दबाब दिन आग्रह गरेपछि आफूले सोहीअनुसार ज्ञापनपत्र बुझाएको उनले बताए। तर माग सम्बोधन नभएपछि आफूले २४ घण्टे अल्टिमेटमसहित आत्मदाह गर्ने चेतावनी दिएको साहको भनाइ छ।
“मैले विद्यालयमा ताल्चा लगाउन लागेको थिएँ। स्थानीय बुद्धिजीवीहरूले आफैं अध्यक्ष भएर ताल्चा नलगाउनुहोस्, एकपटक फेरि ज्ञापनपत्र बुझाउनुहोस् भन्नुभयो,” साहले भने, “त्यसपछि ज्ञापनपत्र बुझाएँ। तर लामो समयदेखि समस्या समाधान नभएपछि आत्मदाहको २४ घण्टे अल्टिमेटम दिन बाध्य भएँ।”
आत्मदाहको चेतावनीपछि भने नगरपालिकाले शिक्षक पठाउने प्रक्रिया अघि बढाएको साहले जानकारी दिए। उनका अनुसार शिक्षा शाखा प्रमुख दिपेन्द्र मण्डल र प्रमुख प्रशासकीय अधिकृत बद्रीराज ढकालको पहलमा विद्यालयमा दुई जना शिक्षक पठाउने तयारी गरिएको छ। यससम्बन्धी पत्रसमेत आफूले प्राप्त गरेको उनले बताए।
“२४ घण्टे अल्टिमेटम दिएपछि शिक्षा शाखा प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले दुई जना शिक्षक पठाउने पत्र दिएका छन्,” साहले भने, “अब पत्रमा मात्रै सीमित नभई शिक्षक विद्यालयमा आएर नियमित पठनपाठन सुरु होस् भन्ने हाम्रो अपेक्षा हो।”
विद्यालयमा विद्यार्थी संख्या बढेपछि त्यसअनुसार शिक्षक व्यवस्थापन हुन नसक्नुले स्थानीय तहको शिक्षा व्यवस्थापनमाथि समेत प्रश्न उठेको छ। सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षित गर्न सफल भएको अवस्थामा त्यसअनुसार शिक्षक, भौतिक पूर्वाधार र शैक्षिक सामग्रीको व्यवस्थापन गर्नु स्थानीय सरकारको दायित्व भए पनि जानप्रियेमा विद्यार्थी र शिक्षकको अनुपात अत्यन्त असन्तुलित रहेको साहको भनाइ छ।
शिक्षक व्यवस्थापनमा राजनीतिकरण भएको अध्यक्ष साहको आरोप पनि गम्भीर छ। उनले विद्यालयलाई सुधार गर्ने आफ्नो प्रयासमा राजनीतिक कारणले अवरोध सिर्जना गरिएको दाबी गरे
विद्यालयमा शिक्षक अभावको समस्या समाधान गर्न आवाज उठाउनु स्वाभाविक भए पनि आत्मदाहजस्तो जोखिमपूर्ण कदमले समस्या समाधान गर्नेभन्दा विद्यार्थी र समुदायलाई थप संकटमा पार्न सक्ने भएकाले संवाद र संस्थागत समाधानको बाटो रोज्नुपर्ने स्थानीयको भनाइ छ।
नगरपालिकाले दुई जना शिक्षक पठाउने तयारी गरेसँगै तत्कालका लागि जानप्रियको समस्या केही सहज हुने अपेक्षा गरिएको छ। तर शिक्षक पठाउने निर्णय कार्यान्वयनमा आउँछ कि आउँदैन र ११० विद्यार्थीका लागि दीर्घकालीन रूपमा आवश्यक शिक्षक व्यवस्थापन हुन्छ कि हुँदैन भन्ने विषयले नै विद्यालयको आगामी शैक्षिक अवस्था निर्धारण गर्नेछ।