रौतहट । रौतहटको राजपुर नगरपालिकामा सर्पले डस्दा एक महिलाको मृत्यु भएको छ।
राजपुर नगरपालिका–२ हजमिनिया बस्ने करिब ५२ वर्षीया जोहरा खातुनलाई शनिबार साँझ खेतबारीमा काम गर्ने क्रममा सर्पले डसेको थियो। सर्पले डसेपछि उनलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो।
गौरमा सामान्य उपचारपछि थप उपचारका लागि नारायणी अस्पताल वीरगञ्ज लगिएकोमा चिकित्सकले जाँच गर्ने क्रममा उनलाई मृत घोषणा गरेका थिए।
मृतकको शव घरमा ल्याएर राखिएको अवस्थामा उनका भाइ शेख कलुहामार्फत शनिबार राति करिब १०ः१५ बजे इलाका प्रहरी कार्यालय राजपुरलाई जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।
जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय राजपुरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक चेतप्रसाद फुयालको कमाण्डमा टोली घटनास्थलमा खटिएको छ। घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। मृतकको शव हाल घरमै रहेको छ।