गरुडा, रौतहट । मध्य बहुमुखी क्याम्पस, गरुडाको तेस्रो क्याम्पस सभा आइतबार क्याम्पस परिसरमा सम्पन्न भएको छ। क्याम्पस सञ्चालक समितिका अध्यक्ष लक्ष्मण साहको सभापतित्व तथा रौतहट क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य गणेश पौडेलको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो।
सभामा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणि जयसवाल, उपप्रमुख पुनम चौधरी, विभिन्न वडाका वडाध्यक्ष, क्याम्पसका पदाधिकारी, शिक्षक, कर्मचारी तथा गरुडा क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
क्याम्पस सभामा शैक्षिक गुणस्तर सुधार, क्याम्पस व्यवस्थापन, भौतिक पूर्वाधार विकास तथा आगामी शैक्षिक योजनाका विषयमा समीक्षा तथा छलफल गरिएको थियो। सहभागीहरूले शिक्षालाई समयसापेक्ष, गुणस्तरीय, अनुसन्धानमुखी र विद्यार्थीमैत्री बनाउन क्याम्पस प्रशासन, शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय तहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
समापन कार्यक्रममा प्रमुख अतिथि पौडेलले क्याम्पसलाई ज्ञान र चेतनाको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। उनले भने, “यो ज्ञान मन्दिर हो, यहाँबाट ज्ञान सबैका लागि हुनुपर्छ।” शिक्षाको मूल उद्देश्य व्यक्तिको विकाससँगै समाज र राष्ट्रलाई चेतनशील, जिम्मेवार र विवेकशील बनाउनु रहेको उनको भनाइ थियो।
कार्यक्रममा शैक्षिक संस्थालाई अनावश्यक राजनीतिक प्रभाव र हस्तक्षेपबाट मुक्त राख्नुपर्ने विषयसमेत उठाइएको थियो। शिक्षा स्वतन्त्र चिन्तन, विवेक र सत्यको खोजी गर्ने माध्यम भएकाले शैक्षिक संस्थामा दलीय स्वार्थ हाबी हुन नहुने सहभागीहरूको धारणा थियो।
शैक्षिक संस्थामा राजनीतिक पहुँच र हस्तक्षेप बढ्दा शिक्षक, विद्यार्थी तथा प्रशासनको निष्पक्षता प्रभावित हुन सक्ने भन्दै क्याम्पसलाई राजनीतिक शक्तिको केन्द्रभन्दा ज्ञान, अनुसन्धान, संवाद, विवेक र चरित्र निर्माणको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिइएको थियो।
“शिक्षा स्वतन्त्र चिन्तनको आधार हो। जहाँ विचारलाई दलगत स्वार्थले निर्देशित गर्छ, त्यहाँ ज्ञानभन्दा आग्रह हाबी हुने खतरा हुन्छ,” कार्यक्रममा व्यक्त धारणा थियो।
शिक्षा समाज रूपान्तरणको दीर्घकालीन आधार भएकाले क्याम्पसको शैक्षिक वातावरण सुधार, गुणस्तरीय शिक्षा र प्राज्ञिक स्वतन्त्रता कायम गर्न सबै सरोकारवालाले साझा जिम्मेवारी निर्वाह गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए। सभा आगामी दिनमा क्याम्पसलाई थप व्यवस्थित, गुणस्तरीय र विद्यार्थीकेन्द्रित बनाउने प्रतिबद्धतासहित सम्पन्न भएको थियो।