रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं १० नयाँ टोलस्थित जनप्रिय प्राथमिक विद्यालयमा अत्यधिक गर्मी र शिक्षक अभावका कारण पठनपाठन प्रभावित भएपछि विद्यालय व्यवस्थापन समिति र स्थानीय अभिभावकले नगरपालिकासँग पटक–पटक समस्या समाधानको माग गरेका छन्। तर, लामो समयसम्म समस्या समाधान नभएपछि विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रमोद कुमार साह असन्तुष्ट बनेका छन्।
गत जेठको दोस्रो सातातिर कक्षा १ मा अध्ययनरत आषुष कुमार साह कक्षामै पढिरहेका बेला अत्यधिक गर्मीका कारण भुइँमा ढले। त्यसको दुई–तीन दिनअघि सोही विद्यालयकी कक्षा ३ मा अध्ययनरत वर्षा साह पनि गर्मीका कारण मुर्छा परेकी थिइन्।
चन्द्रनिगाहपुर–गौर सडकको छेउमै रहेको विद्यालयमा विद्यार्थी संख्या घट्दै गएर ४० भन्दा कम पुगेको थियो। भर्खरै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनेका साहले अभिभावकको घरघरमा पुगेर विद्यार्थीलाई विद्यालयमा पठाउन आग्रह गरेपछि विद्यार्थी संख्या ११० भन्दा बढी पुगेको थियो। तर, विद्यालयमा अत्यधिक गर्मीका कारण विद्यार्थी बिरामी पर्न थालेपछि अभिभावकले पुनः आफ्ना छोराछोरी अन्य विद्यालयमा लैजान सक्ने चिन्ता उनलाई परेको थियो।
समस्या समाधानका लागि जनप्रतिनिधिबाट सहयोग पाउने विश्वाससहित साहले चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जय कुमार काफ्लेलाई भेटेर विद्यालयमा विद्युत्को वायरिङसमेत नभएको जानकारी गराउँदै वायरिङ गरी पंखा उपलब्ध गराइदिन आग्रह गरेका थिए। उनका अनुसार नगर प्रमुख काफ्लेले ‘हुन्छ, दुई–चार दिनमा काम गरिदिउँला’ भनेपछि उनी आशावादी भएर फर्किएका थिए।
तर, शिक्षक अभावको समस्या पनि थपिँदै गयो। जेठ १३ गते विद्यालयमा शिक्षक अभावका कारण पठनपाठनमा समस्या भएको भन्दै थप शिक्षक पठाइदिन साहले नगरपालिकामा पत्र दिएका थिए। उक्त पत्रमा नगर प्रमुखले ११ दिनपछि अर्थात् जेठ २४ गते मात्र तोक लगाएको साहको भनाइ छ।
त्यसपछि भने नगर प्रमुखलाई भेट्नै नसकेको उनले बताए। पटक–पटक फोन गर्दा पनि फोन नउठेको उनको गुनासो छ।
‘नगर प्रमुख जस्तो जननिर्वाचित पदमा बसेको मानिसले जनताको फोन नै नउठाइदिने, भेट गर्नै नसकिने भएपछि हामी जनताले आफ्ना पीरमर्का कसलाई राख्ने ?’ साहले भने।
नगर प्रमुखसँग सम्पर्क हुन नसकेपछि आफू नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतकहाँ पुगेर समस्या राखेको उनले बताए। ‘उहाँले तत्कालै वायरिङ गराएर पंखा पनि उपलब्ध गराउनुभयो। शिक्षकको सरुवाको हकमा नगर प्रमुखलाई नै भन्नुपर्छ भनेर हाकिमले भन्नुभयो,’ साहले भने।
विद्युत्को व्यवस्था भएपछि प्रमुख प्रशासकीय अधिकृतले विद्यालयको दुईपटक निरीक्षणसमेत गरेको साहले बताए। तर, शिक्षक अभावको समस्या समाधान नभएपछि आफूले पटक–पटक नगर प्रमुखलाई भेटेर गुनासो राख्न खोज्दा भेट्न नसकेको उनको भनाइ छ।
‘मेयर साबलाई भेट गर्न जाँदा मात्र मेरो मोटरसाइकलमा १० हजारको पेट्रोल खर्च भयो होला,’ साहले भने, ‘हामी समाजको सेवा गरौँ भन्ने मानिसलाई यसरी दुःख दिएपछि अरूले के सुविधा पाएका होलान् ?’
असार महिनामा स्थानीय अभिभावकसहित कार्यपालिकाको बैठक बसेको स्थानमै पुगेर नगर प्रमुखलाई ज्ञापनपत्र बुझाएको साहले बताए। त्यस क्रममा नगर प्रमुखले बढीमा एक साताभित्र तीन जना शिक्षक सरुवा गरिदिने आश्वासन दिएको उनको भनाइ छ। तर, त्यसपछि पनि शिक्षक व्यवस्थापन नभएपछि विद्यालयको पठनपाठनमा गम्भीर समस्या परेको उनले बताए।
शिक्षक अभाव समाधान नभएपछि स्थानीय केही व्यक्तिसहित आफू आइतबार २४ घण्टे ज्ञापनपत्र लिएर नगरपालिकामा पुगेको साहले बताए। नगर प्रमुखलाई भेट्न नसकेपछि प्रमुख प्रशासकीय अधिकृतलाई सडक जामसम्मको विरोध कार्यक्रम गर्न सकिने जानकारी गराएको उनले बताए।
प्रमुख प्रशासकीय अधिकृतले भने विरोधका कार्यक्रम गर्नुअघि नगर प्रमुखसँग भेटेर छलफल गर्नु उपयुक्त हुने सुझाव दिएको साहको भनाइ छ। सोही क्रममा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा रहेका कार्यपालिका सदस्य नेत्रबहादुर कुश्वारले समेत समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएको उनले बताए।
त्यसपछि तत्काल विरोधका कार्यक्रम नगर्ने मनस्थितिमा आफूहरू पुगेको साहले बताए। कार्यपालिका सदस्य कुश्वार र प्रमुख प्रशासकीय अधिकृतको पहलमा तत्कालका लागि दुई जना शिक्षक पठाउने निर्णय भएको र आइतबार नै दुई शिक्षकको सरुवा पत्रसमेत प्राप्त भएको उनले जानकारी दिए।
‘नगरपालिकाको प्रमुखले आफ्नो हितबाहेक अरू कसैको पनि काम नगरिदिने, जनतालाई नभेट्ने र फोन पनि नउठाउने गरेकाले मैले निकै दुःख पाएँ,’ साहले भने, ‘जनप्रतिनिधि भनेको जनताको सुखदुःखमा साथ दिने हुनुपर्छ, तर उहाँ जनतादेखि परपर भाग्नुहुन्छ।’
यस विषयमा कार्यपालिका सदस्य नेत्रबहादुर कुश्वारले आफू र प्रमुख प्रशासकीय अधिकृतको पहलमा विद्यालयको शिक्षक अभावको समस्या समाधान गरिएको बताए।
प्रमुख प्रशासकीय अधिकृत बद्रीराज ढकालले साह व्यवस्थापन समिति अध्यक्ष रहेको विद्यालयमा पहिले विद्युत्को व्यवस्था नै नरहेको र त्यसपछि विद्युत् जोड्ने काम गरिएको बताए। ‘शिक्षक अभावले पठनपाठन प्रभावित भएको रहेछ, त्यसको पनि हल भएको छ,’ ढकालले भने।
चन्द्रपुर नगरपालिकाको शिक्षा शाखा प्रमुख दिपेन्द्र कुमार मण्डलले विद्यालयमा थप दुई जना शिक्षकलाई सरुवा गरिएको पुष्टि गरे।
लामो समयदेखि विद्यार्थी संख्या घटेर ४० भन्दा कम पुगेको विद्यालयलाई व्यवस्थापन समिति अध्यक्ष साहले अभिभावकसँगको समन्वयमा पुनः ११० भन्दा बढी विद्यार्थी पुर्याएका थिए। तर, विद्युत् र शिक्षक अभावका कारण विद्यालयको नियमित पठनपाठन प्रभावित भएपछि पुनः विद्यार्थी गुम्ने चिन्ताले आफूले नगरपालिकासँग सहयोग मागेको साहको भनाइ छ। अहिले दुई शिक्षक सरुवा भएपछि तत्कालका लागि समस्या केही हदसम्म समाधान हुने अपेक्षा गरिएको छ।