रौतहट । रौतहटको गौरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा भारतको बेतिया घर भएका सुरेश रायका ३४ वर्षीय छोरा विकास राय रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार सोमबार बिहान करिब ९ः१० बजे गौर नगरपालिका–४ स्थित बीपी चोकमा सुरज गुप्ताले सञ्चालन गरेको युवा राइज सुधार केन्द्रको कम्पाउण्डमा मोटरको तार जडान गरिएको कलमा हात धुने क्रममा रायलाई करेन्ट लागेको थियो।
करेन्ट लागेर घाइते भएका रायलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएकोमा चिकित्सकले बिहान ९ः५५ बजे मृत घोषणा गरेका थिए। उनको शव सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
राय विगत पाँच महिनादेखि उक्त सुधार केन्द्रमा भर्ना भई बस्दै आएका थिए। घटनाबारे उनका आफन्तलाई जानकारी गराइएको छ।
घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक कैलाशकुमार केसीको कमाण्डमा टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।