रौतहट । रौतहटको गुजरा नगरपालिका–२ चोचास्थित नहरमा पहिचान नखुलेको एक पुरुषको शव फेला परेको छ।
मंगलबार बिहान करिब १०ः४५ बजे नहरमा एक पुरुषको शव बगाएर ल्याएको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी बलको एफओबी जंगलसैयाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक चक्रबहादुर खत्रीको कमाण्डमा सात जनाको टोली घटनास्थल पुगेको थियो।
त्यस्तै, प्रहरी चौकी रंगपुरबाट प्रहरी सहायक निरीक्षक राम वशिष्ठ यादवको कमाण्डमा प्रहरी टोलीसमेत घटनास्थल पुगेको थियो। सुरक्षाकर्मीले नहरबाट शव बाहिर निकालेर नहरको छेउमा राखेका छन्।
घटनाबारे थप कानुनी प्रक्रिया तथा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी निरीक्षक दिनेश थापाको कमाण्डमा SOCO सहितको टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ।
मृतकको नाम, ठेगाना तथा मृत्युको कारण खुल्न बाँकी रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।