रौतहट । रौतहटको परोहा नगरपालिका–५ रमनगरामा पोखरीमा डुबेर १० वर्षीय बालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार स्थानीय शेख नसरुल हकका १० वर्षीय छोरा नासिर कलाम मंगलबार बिहान करिब ११ः३० बजे स्थानीय सार्वजनिक पोखरीमा नुहाउने क्रममा डुबेका थिए।
पोखरीमा डुबेर मृत्यु भएका बालकको शव आफन्तले बाहिर निकालेर घरमा लगेका थिए। घटनाबारे स्थानीयमार्फत दिउँसो करिब १२ः३० बजे इलाका प्रहरी कार्यालय कोप्वा पिपरियामा जानकारी पुगेपछि प्रहरी नायब निरीक्षक मिनबहादुर धमलाको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरी टोलीले घरमा राखिएको शव सुरक्षित राखेको छ। थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय मौलापुरबाट प्रहरी निरीक्षक भरत केसी तथा जिल्ला प्रहरी कार्यालय रौतहटबाट SOCO सहितको टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।