रौतहट । रौतहटको मौलापुर नगरपालिका–३ स्थित लालबकैया पुलबाट अलपत्र अवस्थामा भेटिएका दुई बालकलाई प्रहरीले उद्धार गरी अभिभावकको जिम्मा लगाएको छ।
मंगलबार दिउँसो करिब ३ः१० बजे लालबकैया पुलमा दुई जना बालक अलपत्र अवस्थामा रहेको देखेपछि बाटोमा हिँडिरहेका यात्रुले इलाका प्रहरी कार्यालय मौलापुरमा जानकारी गराएका थिए।
सूचना प्राप्त भएपछि प्रहरीले तत्काल टोली खटाएर दुवै बालकलाई सुरक्षित रूपमा इलाका प्रहरी कार्यालयमा ल्याएको थियो। प्रहरीले सोधपुछ तथा आवश्यक समन्वय गरी बालकका अभिभावकलाई कार्यालयमा बोलाई दुवैलाई सकुशल जिम्मा लगाएर पठाएको जनाएको छ।
बालबालिकाको सुरक्षा र संरक्षणमा देखाएको तत्परताका लागि इलाका प्रहरी कार्यालय मौलापुरका प्रहरी निरीक्षक भरत केसीको नेतृत्वको स्थानीय स्तरमा प्रशंसा भइरहेको छ। पछिल्लो समय प्रहरी निरीक्षक केसीको नेतृत्वमा मौलापुर प्रहरीले नागरिकका समस्या तथा जोखिममा परेकाहरूको उद्धारमा देखाएको सक्रियता सराहनीय देखिएको छ।