रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–२ जुडीबेलास्थित आचार्य एकीकृत कृषि फर्मको गाईगोठमा आगलागी हुँदा ७ वटा चौपाया मरेका छन्।
स्थानीय नरराज आचार्यको कृषि फर्मको गाईगोठमा शनिबार बिहान करिब ५ बजे अचानक आगलागी भएको थियो। आगलागीको सूचना बिहान ६ः१० बजे प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक बरुणकुमार रायको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरी र स्थानीयको सहयोगमा बिहान ६ः५० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। आगलागीबाट चारवटा गाई, दुईवटा गाईका बाच्छा र एउटा भैंसी गरी सातवटा चौपाया जलेर मरेका छन्। त्यस्तै, दुईवटा गाई र एउटा खसी जलेको अवस्थामा उद्धार गरिएको छ।
आगलागीबाट करिब ९ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनामा मानवीय क्षति भने भएको छैन।
आगलागीको कारण तत्काल खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी निरीक्षक दिनेश थापाको कमाण्डमा मुचुल्का टोली खटिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।