रौतहट । रसुवामा आएको भोटेकोशीको विनाशकारी बाढीपछि रौतहटको मौलापुर नगरपालिका–७, सगैयाका अभिषेक गुप्ता सम्पर्कविहीन भएपछि यतिबेला उनको घरमा रुवाबासी छ। भोटेकोशीको भेलसँगै सम्पर्कविहीन बनेका अभिषेकको सकुशल खबरको प्रतीक्षामा परिवारका सदस्य दिनरात चिन्तामा छन्।
रसुवाको श्री शेर गण, व्य.नं. ३२३७९७ मा कार्यरत सिपाही अभिषेक रसुवाको श्री सुवेश मैलुङ पोस्टमा खटिएका थिए। बुधबार भोटेकोशीमा आएको बाढीपछि उनीसँग सम्पर्क हुन नसकेको मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ।
अभिषेकका हजुरबुबा तोखन साह र बुबा बैनाथ साह छोराको खबर नआएपछि गहिरो पीडामा छन्। परिवारका अनुसार जागिर सुरु गरेको तीन वर्ष पनि पूरा नहुँदै अभिषेकमाथि यस्तो विपत्ति आइपरेको हो।
अझै केही समयअघि मात्रै अभिषेक झण्डै एक महिना घर बसेर आफ्नो कार्यक्षेत्रतर्फ फर्किएका थिए। घरबाट खुसीसाथ बिदा भएर रसुवा पुगेका छोरा अहिले सम्पर्कविहीन भएको खबर पाएपछि परिवारमा पीडा र छटपटी थपिएको छ।
आर्थिक संकटका बीच पनि अभिषेकले संघर्ष गरेर नेपाली सेनामा सिपाही पदमा नाम निकालेका थिए। परिवारको अवस्था सुधार्ने र आफ्नो भविष्य बनाउने सपना बोकेर सेवामा प्रवेश गरेका अभिषेकले जागिरमार्फत परिवारलाई समेत सहारा दिने अपेक्षा थियो। तर जागिरको तीन वर्ष नबित्दै आएको यो खबरले परिवारलाई स्तब्ध बनाएको छ।
अभिषेक सम्पर्कविहीन भएपछि सगैयास्थित उनको घरमा आफन्त तथा छिमेकीहरू जम्मा भएका छन्। घरमा रुवाबासी छ। परिवारको एउटै प्रार्थना छ—भोटेकोशीको भेलले सम्पर्क तोडे पनि अभिषेकलाई सकुशल परिवारको काखमा फर्काइदियोस्।
मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार भोटेकोशी बाढीपछि रसुवामा कार्यरत मधेश प्रदेशका तीन नेपाली सेनासहित १२ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका थिए। तीमध्ये एक नेपाली सेनासहित सात जना सम्पर्कमा आइसकेका छन् भने दुई नेपाली सेनासहित पाँच जना अझै सम्पर्कविहीन छन्।
सम्पर्कविहीन हुने नेपाली सेनाका दुई जनामध्ये रौतहटको मौलापुर नगरपालिका–७, सगैयाका अभिषेक गुप्ता र बाराको सुवर्ण गाउँपालिका–१ का सुरजकुमार साह रहेका छन्। अन्य तीन जना प्रहरीतर्फका सुरक्षाकर्मी हुन्।
सम्बन्धित सुरक्षा निकायले सम्पर्कविहीन सुरक्षाकर्मीहरूको अवस्था यकिन गर्न खोजी तथा आवश्यक समन्वय गरिरहेको जनाएको छ। यता सगैयामा भने परिवार र गाउँलेहरू अभिषेकको एउटा खबरको प्रतीक्षामा छन्।‘अभिषेक सकुशल छन्’ भन्ने खबर कहिले आउला?