चन्द्रपुर,१५ भदौ
रौतहटको चन्द्रनिगाहपुर सिटी जेसीजको आयोजनामा रौतहटमा ‘जेसिस कप–२०८३’ अन्तरविद्यालय नकआउट क्रिकेट प्रतियोगिताको तयारी पुरा भएको छ ।
चन्द्रनिगाहपुर सिटि जेसिसले आज चन्द्रनिगाहपुरमा पत्रकार सम्मेलन गदै चन्द्रपुर नगरपालिका–८ स्थित बेतौना कोटीहोम क्रिकेट मैदानमा आगामी भदौ १८ गतेदेखि २४ गतेसम्म प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा सिटी जेसीजका अध्यक्ष देवराज न्यौपानेले जिल्लाका विभिन्न विद्यालयका क्रिकेट टोलीहरूको सहभागिता रहने यस प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिनुभएको छ।
सार्वजनिक गरिएको खेल तालिकाअनुसार प्रतियोगितामा नमुना आवासीय मावि (चन्द्रपुर–५), झरना आवासीय मावि (चन्द्रपुर–८), बालनिकेतन आवासीय मावि (चन्द्रपुर–६), एभरग्रिन आवासीय मावि (चन्द्रपुर–१०), जनज्योति मावि (चन्द्रपुर–६), मुनलाइट एकेडेमी (चन्द्रपुर–५) र होलिभिजन आवासीय मावि (चन्द्रपुर–७) भिड्ने छन्।
त्यस्तै श्री जयकिसान मावि (धरहरी), श्री मावि (कनकपुर), माउन्ट एभरेस्ट आवासीय मावि (चन्द्रपुर–५), द रिडर्स इन्टरनेशनल स्कुल (गरुडा), नेपाल पुलिस स्कुल (गरुडा), श्री जनता मावि (कटहरिया) र श्री रूपा नेपाली पाल मावि (धमौरा) को पनि सहभागिता रहनेछ।
विद्यालय तहबाटै क्रिकेट खेलको विकास गर्ने, नयाँ प्रतिभाको पहिचान गर्ने र विद्यार्थीमा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको चन्द्रपुर क्रिकेट एकेडेमीका उपाध्यक्ष विष्णु थापा मगरले बताउनुभयो ।
यस प्रतियोगिताले रौतहटको विद्यालयस्तरीय क्रिकेटलाई थप व्यवस्थित र प्रतिस्पर्धी बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने थापाको भनाइ थियो ।
पत्रकार सम्मेलनमा चन्द्रनिगाहपुर सिटि जेसिसका पदाधिकारीहरु, नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष संजय कार्की,उपाध्यक्ष डिल्ली बहादुर कार्की,प्रेस चौतारीका केन्द्रिय सदस्य रमेश तिमलसिना,रौतहट अध्यक्ष अशोक कुमार पहाडी,हिमालय टेलिभिजनका रौतहट प्रतिनिधि बाल बिक्रम कार्की,प्रेस युनियनका रौतहट उपाध्यक्ष दिपु मिश्र,चन्द्रपुर क्रिकेट एकेडेमीका अध्यक्ष देबराज कार्की लगायतको सहभागिता रहेको थियो ।