रौतहट । वीरगञ्ज महानगरपालिकाको बसपार्क क्षेत्रमा रहेको थ्री स्टार होटलमा छापा मार्न पुगेको प्रहरी टोलीमाथि हातपात तथा झडप भएको घटनाले सुरक्षा व्यवस्थामाथि नै गम्भीर प्रश्न खडा गरेको छ।
भाद्र १३गते शनिबारको दिन होटलमा छापा मार्ने क्रममा केही समूहले प्रहरीमाथि हातपात गरेपछि, झडपमा प्रहरीहरू घाइते समेत भएको प्रहरी स्रोतले जनाएको छ।
घटनापछि वडा प्रहरी कार्यालय श्रीपुर र वडा प्रहरी कार्यालय बिर्ताको संयुक्त टोलीले ९ जनालाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिइएकामध्ये ६ जनालाई सामान्य जिम्मा–जमानीमा रिहा गरिएको थियो।
तर झडपमा मुख्य भूमिका खेलेको आरोप लागेका तीन जना भने प्रहरी नियन्त्रणमै छन। उनीहरूमाथि घटनाको अनुसन्धान गरी प्रहरीमाथि अभद्र व्यवहार तथा अवरोधलगायतका कसुरमा मुद्दा दर्ता भएको प्रहरी स्रोतको दाबी छ।
यता, प्रहरीमाथि नै हातपात भएको गम्भीर घटनामा नियन्त्रणमा रहेका तीनै जनालाई छुटाउन प्रहरी माथि राजनीतिक दबाब र चलखेल सुरु भएको बुझिएको छ। कानुन कार्यान्वयन गर्ने निकायमाथि प्रत्यक्ष आक्रमण भएको घटनामा समेत राजनीतिक पहुँच प्रयोग गरेर आरोपितलाई उन्मुक्ति दिलाउने प्रयास भइरहेको हो भने यसले प्रहरीको मनोबलमाथि समेत गम्भीर असर पार्ने देखिन्छ।
प्रहरीमाथि हातपात गर्ने समूहलाई राजनीतिक संरक्षण दिने प्रयास हो भने त्यो कानुनको खिल्ली उडाउने काम मात्र होइन, राज्यको सुरक्षा संयन्त्रमाथिकै चुनौती हुनेछ। घटनामा संलग्न व्यक्तिमाथि निष्पक्ष अनुसन्धान र कानुनी कारबाही हुन्छ कि राजनीतिक पहुँचका आधारमा उन्मुक्ति दिइन्छ भन्ने विषय अहिले वीरगञ्जमा चासोको विषय बनेको छ।
प्रहरीमाथि आक्रमण गर्नेहरूलाई कारबाही गर्नुको सट्टा दबाब, पहुँच र राजनीतिक प्रपञ्च हाबी भए प्रहरीको अधिकार र राज्यको कानुनी शासनमाथि नै प्रश्न उठ्नेछ।
यस विषयमा बुझ्न जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्तासंग बुझ्न खोज्दा उहाँको फोन नै उठेन भने प्रहरीको अधिकारीक धारणा आएको छैन।