रौतहट, १७ भदौ । रौतहटको देवाही गोनाही नगरपालिका–३ गोठटोलमा १८ वर्षीया सुमेदी कुमारी पटेल मृत अवस्थामा फेला परेकी छन्। गरुडा नगरपालिका–७ पिपरिया निवासी सुमेदी करिब दुई महिनादेखि २२ वर्षीय रौनक राज पटेलको घरमा बस्दै आएकी थिइन्।
घटनापछि मृतकका परिवारले सुमेदीको हत्या गरी आत्महत्या जस्तो देखाउन खोजिएको आरोप लगाएका छन्। मृतकका बुवा लालबाबु पटेलले छोरीलाई प्रेम सम्बन्धपछि रौनक राज पटेलले परिवारको सहमतिबिना आफ्नो घरमा ल्याएको र त्यसपछि दाइजोको विषयलाई लिएर मानसिक तथा शारीरिक यातना दिइएको दाबी गरेका छन्।
लालबाबुका अनुसार रौनक, उनका बुवा सुभाष पटेल तथा बहिनीले दाइजोस्वरूप सुन, मोटरसाइकल, नगदलगायतका सामग्री माग गर्दै छोरीमाथि दबाब दिने गरेका थिए। परिवारले दाइजो दिन अस्वीकार गरेपछि छोरीमाथि दुर्व्यवहार तथा घरेलु हिंसा बढेको उनको आरोप छ।
मृतकका बुवाका अनुसार आज बिहान करिब साढे ४ बजे छोरीले आत्महत्या गरेको भन्दै आफूहरूलाई फोनमार्फत जानकारी दिइएको थियो। तर घटनास्थलको अवस्था, विगतमा भएको भनिएको दाइजोसम्बन्धी दबाब र पारिवारिक विवादलाई आधार बनाउँदै उनले घटनामाथि गम्भीर आशंका व्यक्त गरेका छन्।
उनले छोरीको हत्या गरेर आत्महत्या जस्तो देखाउने प्रयास भएको हुनसक्ने आरोप लगाउँदै घटनाको निष्पक्ष र गहिरो अनुसन्धान गर्न प्रहरीसँग माग गरेका छन्। मृतक पक्षले यसअघि पनि दाइजो नदिए गम्भीर परिणाम भोग्नुपर्ने भन्दै धम्की आएको दाबी गरेको छ।
घटनापछि मृतकका आफन्त तथा स्थानीयवासीले घटनाको सत्यतथ्य छानबिन गरी दोषी देखिए कडा कानुनी कारबाही गर्न माग गरेका छन्।
सुमेदीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ। युवतीको मृत्युको वास्तविक कारण भने पोस्टमार्टम रिपोर्ट र अनुसन्धानबाट खुल्नेछ।
प्रहरी अनुसन्धान तथा पोस्टमार्टमबाट पुष्टि नभएसम्म हत्या वा आत्महत्याबारे निश्चित निष्कर्षमा पुग्न नसकिने भएकाले मृतक परिवारले लगाएको आरोपलाई अनुसन्धानको विषयका रूपमा लिइएको छ।