रौतहट । रौतहटको परोहा नगरपालिका–३ तेजापाकडमा करेत सर्पको टोकाइबाट पाँच वर्षीया बालिकाको मृत्यु भएको छ।
स्थानीय अनिरुद महतोकी पाँच वर्षीया छोरी बिउटी कुमारी कुशवाहालाई शनिबार राति करिब ८ः३० बजे घरको कोठामा खेलिरहेको अवस्थामा करेत सर्पले दाहिने हातको औँलामा टोकेको थियो। सर्पले टोकेपछि बिरामी भएकी उनलाई तत्काल प्रादेशिक अस्पताल गौरमा लगिएको थियो।
गौरमा उपचारपछि थप उपचारका लागि नारायणी अस्पताल वीरगञ्ज लगिएकी बालिकाको चिकित्सकले स्वास्थ्य परीक्षण तथा ईसीजी गर्दा आइतबार बिहान करिब १ः१५ बजे मृत्यु भएको पुष्टि गरेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय लौकाहाबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। प्रहरीका अनुसार मृतक बालिकाका बुवा अनिरुद महतोले शवको पोस्टमार्टम नगर्ने बताएपछि शव बुझेर घर लगेका छन्।
प्रहरीका अनुसार घटनास्थल इलाका प्रहरी कार्यालय लौकाहाबाट करिब दुई किलोमिटर उत्तरपूर्वमा पर्छ।