रौतहट । भोटेकोशी बाढीमा ज्यान गुमाएका सम्पूर्णप्रति श्रद्धाञ्जली व्यक्त गर्दै रौतहटको मौलापुर नगरपालिका–१ मर्यादपुरस्थित श्री माध्यमिक विद्यालयका विद्यार्थीहरूले विपद् प्रभावितका लागि आर्थिक सहयोग गरेका छन्।
विद्यालयका विद्यार्थीहरूले आफ्नो तर्फबाट संकलन गरेको रु. ५ हजार ५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्। विद्यार्थीहरूले संकलन गरेको उक्त रकम विपद्का बेला पीडित परिवार तथा प्रभावित नागरिकको सहयोगमा केही योगदान पुगोस् भन्ने उद्देश्यले राहत कोषमा प्रदान गरिएको विद्यालयले जनाएको छ।
श्री माध्यमिक विद्यालय मर्यादपुरका प्रधानाध्यापक दीनदयाल साहले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत विद्यार्थीहरूले संकलन गरेको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको जानकारी दिएका छन्।
प्रधानाध्यापक साहले भोटेकोशी बाढीमा ज्यान गुमाएका सम्पूर्णप्रति एकमुष्ट हार्दिक श्रद्धाञ्जली तथा शोक व्यक्त गर्दै विपद्को घडीमा सहयोगका लागि अघि सर्ने विद्यार्थीहरूको प्रयास प्रशंसनीय रहेको बताएका छन्। उनले सहयोग रकम संकलनमा सहभागी तथा सहयोग गर्ने सम्पूर्ण विद्यार्थी, अभिभावक र सहयोगीप्रति धन्यवादसमेत व्यक्त गरेका छन्।
भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो। बाढीपछि प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटाउने क्रम जारी छ। यही क्रममा विद्यालयका विद्यार्थीहरूले समेत आफ्नो क्षमताअनुसार रकम संकलन गरी सरकारी राहत कोषमा सहयोग गरेका हुन्।
सानो रकम भए पनि विपद्को समयमा विद्यार्थीहरूले देखाएको सामाजिक उत्तरदायित्व र मानवीय भावनाले समुदायमा सकारात्मक सन्देश दिएको छ। विद्यालय तहदेखि नै विद्यार्थीलाई सामाजिक सेवा, मानवीय सहयोग र विपद्का बेला पीडितको साथमा उभिने संस्कार विकास गराउने यस्ता पहलले समाजमा सहयोग र सहकार्यको भावना थप बलियो बनाउने अपेक्षा गरिएको छ।