चन्द्रपुर (रौतहट) — भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका सहकारीकर्मी तथा अन्य नागरिकको सम्झनामा रौतहटको चन्द्रपुर चोकमा दीप प्रज्वलनसहित श्रद्धाञ्जली सभा गरिएको छ। बाढीमा ज्यान गुमाएकाहरूको १३औँ दिनको पुण्यतिथिको अवसर पारेर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड रौतहटको आयोजनामा कार्यक्रम गरिएको हो।
चन्द्रपुर चोकमा आयोजित कार्यक्रममा सहभागीहरूले बाढीमा ज्यान गुमाएका सबैप्रति एक मिनेट मौनधारण गर्दै दीप प्रज्वलन गरेका थिए। सहभागीहरूले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरे। विपद्मा ज्यान गुमाएका परिवारजनप्रति समवेदना प्रकट गर्दै उनीहरूको दुःखमा आफूहरू साथमा रहेको सन्देशसमेत कार्यक्रममा दिइएको थियो।
भोटेकोशी बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि देशभर शोक र चिन्ता छाएको अवस्थामा चन्द्रपुरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा सामाजिक क्षेत्रका विभिन्न व्यक्तिको उल्लेख्य सहभागिता थियो। कार्यक्रमलाई कुनै राजनीतिक दलको कार्यक्रमका रूपमा नभई विशुद्ध सामाजिक तथा मानवीय संवेदना प्रकट गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएको छ।
श्रद्धाञ्जली सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चन्द्रपुर नगर सभापति अरुण लामासहित पार्टीका नेता तथा कार्यकर्ताको समेत सहभागिता थियो। नगर सभापति लामाको नेतृत्वमा रास्वपाको नगर कमिटी कार्यक्रममै सहभागी भई मृतकप्रति श्रद्धाञ्जली र बाढीपीडितप्रति ऐक्यबद्धता जनाएको थियो।
कार्यक्रममा चन्द्रपुरका अतिरिक्त वृन्दावन, गढीमाईलगायत विभिन्न स्थानबाट समेत सर्वसाधारण तथा सामाजिक क्षेत्रमा आबद्ध व्यक्तिहरू सहभागी भएका थिए। चन्द्रपुर चोकमा भेला भएका सहभागीले दीप प्रज्वलन गर्दै विपद्का कारण ज्यान गुमाएकाहरूको सम्झना गरेका थिए।
नगर सभापति लामाले कार्यक्रममा सहभागी भई बाढीपीडित तथा मृतक परिवारप्रति ऐक्यबद्धता जनाउने वृन्दावन, गढीमाईलगायत विभिन्न स्थानबाट आएका सम्पूर्ण सहभागीलाई धन्यवाद दिएका छन्। उनले विपद्को समयमा राजनीतिक मतभेदभन्दा माथि उठेर मानवीय संवेदनासहित पीडितको पक्षमा उभिनुपर्ने बताए।
श्रद्धाञ्जली सभामा सहकारी संस्थाका सञ्चालक, कर्मचारी, सेयर सदस्य, पत्रकार, नागरिक अगुवा, मानवअधिकारकर्मी, सुरक्षाकर्मी तथा समाजका विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरूको उपस्थिति थियो। सहभागीहरूले भोटेकोशी बाढीमा ज्यान गुमाएका व्यक्तिहरूको योगदान र परिवारजनले भोग्नुपरेको पीडाप्रति सम्मान व्यक्त गरेका थिए।
कार्यक्रमको सञ्चालन जिल्ला बचत तथा ऋण सहकारी संघ रौतहटका सचिव वसन्त आचार्यले गरेका थिए। कार्यक्रममा संघका अध्यक्ष विभु पोखरेलले शोकको घडीमा उपस्थित भएर दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्ने तथा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे।
उनले प्राकृतिक विपद्का कारण ज्यान गुमाएका परिवारको पीडालाई शब्दमा व्यक्त गर्न नसकिने भन्दै यस्तो कठिन समयमा समाज एकजुट भएर पीडित परिवारको साथमा उभिनुपर्ने बताए। श्रद्धाञ्जली सभामार्फत मृतकको सम्झना गर्नुका साथै विपद्मा परेका परिवारप्रति सामाजिक ऐक्यबद्धता प्रकट गर्ने उद्देश्य पूरा भएको आयोजकको भनाइ छ।
दीप प्रज्वलनपछि सहभागीहरूले आगामी दिनमा यस्ता विनाशकारी विपद् दोहोरिन नदिन राज्यका सम्बन्धित निकायले जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणाली तथा विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकतासमेत औंल्याएका थिए।